काठमाडौं । पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सय वर्षसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गरेका छन् । शुक्रवार काठमाडौंमा एकीकृत समाजवादी पार्टीसँग एकता समारोहमा उनले अझै २३ वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गरे । उनले विभाजन भएको चार वर्षपछि एकीकृत समाजवादीमा प्रवेश गर्न पाउँदा खुसी भएको जनाए ।
उनले भने, ‘म एसएलसी मात्र पास गरेका मान्छे हो । त्यही पनि थर्ड डिविजनमा बल्लतल्ल पास गरेँ । अहिले ७७ वर्षको भएँ ।
सय वर्षसम्म बाँच्नुपर्छ जस्तो लाग्छ । सय वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँछु । दुई वटा सङ्कल्प लिएर म कम्युनिस्ट आन्दोलनमा लागेँ । एउटा राजतन्त्रको अन्त्य अर्को कम्युनिस्ट पार्टीलाई एउटै बनाउने । त्यो २०७५ सालमा पास भयो । त्यतिबेला म ज्यादै खुसी थिएँ ।’ उनले अबको सङ्कल्प आफ्नै जीवनका कालमा समाजवादमा लैजाने रहेको भएपनि त्यो पुरा हुने बताए । आफूले चार वर्षदेखि नै वामपन्थी राजनीतिमा लागेको जिकिर गर्दै यस यात्रामा धेरै हण्डर ठक्कर खाएर आएकाले फहराएको झण्डालाई झुक्न नदिने सङ्कल्प गरे ।


















