काठमाडौं । गृह मन्त्रालयले ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । हालै लोकसेवा आयोग पास गरी आएका शाखा अधिकृतहरूलाई मन्त्रालयले विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको हो ।
‘लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ ।’ उनले भने– ‘अध्यागमन कार्यालयमा प्रमुखका रूपमा आएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसक्नुभएको छ ।’
केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो । त्यसैगरी गृहमन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही सङ्ख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ । ‘विमानस्थलबाट आएका अधिकृतहरू मन्त्रालयमा दरबन्दी मिलान हुन्छ ।’
गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने– ‘दरबन्दीभन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालय मार्फत बाहिर पठाउने काम हुन्छ ।’ उनले दरबन्दी अनुसार मात्रै मन्त्रालयले अधिकृतहरू राख्ने बताए ।
त्यस्तै सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ ।
उक्त समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानुनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रश्तुत गर्ने लगायत कार्यादेश दिइएको छ । समिति अहिले कार्यादेश अनुसार काम गरिरहेको छ ।


















