एमालेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने क्रम जारी

27

काठमाडौं। नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको बैठक जारी रहेको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा हिजोबाट सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि धारणा राख्ने कार्यक्रम छ।

हिजो गण्डकी, मधेस, प्रदेश विशेष र सम्पर्क समन्वय समितिबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। गौतमका अनुसार हरेक केन्द्रीय सदस्यलाई धारणा राख्न अधिकतम तीन मिनेटको समय दिइएको छ। बैठकमा सचिवालय र पोलिटब्युरो सदस्यबाहेकका सदस्यहरूलाई मात्र बोल्ने अवसर दिइएको छ।

आजको बैठकपछि समसामयिक प्रस्तावहरू समेत समेटिएको घोषणापत्र सार्वजनिक गर्ने तयारी पार्टीले गरेको छ।  पार्टीको विधान संशोधन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक सन्दर्भबारे स्पष्ट कार्यदिशा तय गर्ने उद्देश्यले एमालेले केन्द्रीय समिति बैठक बसेको हो।

केन्द्रीय सदस्यहरूको धारणा र सुझावलाई समेट्दै पार्टीले आगामी रणनीति तय गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here