भारत फुटबल खेल्न मध्य एसियातिर लाग्याे

23

काठमाडौं। भारतीय राष्ट्रिय पुरुष फुटबल टिम प्रतियोगिता खेल्न मध्य एसियातिर सरेको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)तिर फुटबल गतिविधि शून्य भएपछि भारतले सन् २०२७ मा हुने एएफसी एसियन कपको छनोट अन्तिम चरणको तयारीका लागि मध्य एसियाली फुटबल संघ (काफा) नेसन्स कप २०२५ छनोट गरेको हो

प्रतियोगिता आगामी अगस्ट ३१ देखि सेप्टेम्बर ८ सम्म उज्बेकिस्तान र ताजिकिस्तानमा संयुक्त रूपमा आयोजना हुनेछ। भारतलाई दुई वर्षमा एकपटक आयोजना हुने यस क्षेत्रीय प्रतियोगिताको समूह ‘बी’ मा राखिएको छ, जसका खेल ताजिकिस्तानको राजधानी दुशान्बेमा हुनेछ।

भारतले पहिलो खेल अगस्ट २९ मा आयोजक ताजिकिस्तानसँग खेल्नेछ। त्यसपछि सेप्टेम्बर १ मा ईरान र अन्तिम समूह चरणको खेल सेप्टेम्बर ४ मा अफगानिस्तानसँग हुनेछ।

त्येक समूहबाट शीर्ष दुई टोली प्लेअफ चरणमा पुग्नेछन्। सेप्टेम्बर ८ मा दुई वटा प्लेअफ खेल हुनेछ। दुशान्बेमा समूह उपविजेता दुई टोलीबीच तेस्रो स्थानको प्रतिस्पर्धा हुनेछ भने टसकेन्टमा समूह विजेता दुई टोलीबीच उपाधिका लागि फाइनल हुनेछ।

समूह ‘ए’ उज्बेकिस्तानमा हुनेछ र यस समूहमा आयोजक उज्बेकिस्तानसँगै किर्गिस्तान, तुर्कमेनिस्तान र ओमान रहेका छन्। काफामा अफगानिस्तान, इरान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान गरी ६ सदस्य राष्ट्र छन्। भारत र ओमान दोस्रो संस्करणको लागि आमन्त्रित दुई टोली हुन्। पहिलो संस्करणको उपाधि इरानले सन् २०२३ मा उज्बेकिस्तानलाई १–० ले हराउँदै जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here