काठमाडौं । अभिनेता सौगात मल्लले आफ्नो स्वास्थ्यको कारण देखाउँदै नयाँ चलचित्र ‘जहाजैमा’सँगको सम्झौता तोडेका छन् । यो चलचित्रमा अनुबन्धित भएका सौगातको हालै पोस्टर समेत सार्वजनिक गरिएको थियो ।
निर्देशक कृषा चौलागाईँको निर्देशनमा यो नयाँ चलचित्रको आगामी भदौको पहिलो साताबाट जापानमा छायांकन सुरु गरिँदै छ । चलचित्रको छायांकन अघि अभिनय कार्यशालाको तयारी गर्दै गर्दा अभिनेता सौगात यो चलचित्रबाट बाहिरिएका हुन् ।
यस चलचित्रको जापान, फिलिपिन्स र नेपालमा छायांकन गरिने तयारी हुँदै थियो । गत महिना यसमा अनुबन्ध भएका अभिनेता सौगात मल्लले चलचित्रबाट हात झिकेपछि उनको ठाउँमा अर्को अभिनेता राख्नको लागि निर्माण टिमले अहिले अरू कलाकारसँग वार्ता थालेको निर्देशक कृषाले जनाएकी छिन् ।
यता अभिनेता सौगातले आफ्नो खुट्टाको कारण यो चलचित्र छाड्नु परेको जनाएका छन् । उनले गत साता खुट्टाको अप्रेसन गरेका थिए । चिकित्सकले केही महिना चलचित्रमा एक्सन प्रधान भूमिका नगर्न सुझाव दिएका कारण ‘जहाजैमा’बाट आफू अलग्गिनु परेको सौगातले जनाएका छन् ।
चलचित्र ‘जहाजैमा’मा अभिनय नगर्ने भएपछि उनी अर्को नयाँ चलचित्र ‘परालको आगो’मा अनुबन्धित भएका छन् । यो चलचित्रबाट अभिनेता जितु नेपाल बाहिरिए पछि उनले छाडेको भूमिकामा सौगात मल्ल अनुबन्धित भएका हुन् । यो चलचित्रको पनि भदौबाटै छायांकन हुँदै छ । चलचित्र ‘परालको आगो’मा एक्सन प्रधान दृश्य नभएका कारण यसमा अभिनय गर्न आफू सहमत भएको पनि सौगातले जनाएका छन् ।
अभिनेता सौगातको नयाँ चलचित्र सिटामोल २३ साउनबाट चलचित्र घरमा रिलिज हुँदै छ । आफ्नो अबको व्यस्तता’ उनले भने,‘यही शुक्रवारबाट रिलिज हुने नयाँ चलचित्र सिटामोलको प्रचार प्रसारमा अहिले म व्यस्त छु । यस चलचित्रको रिलिज पश्चात केही दिन आराम गर्नेछु र त्यसपछि नयाँ चलचित्र परालको आगोको छायांकनमा जोडिने छु ।’














