काठमाडौं । नेपाल सरकारले चीन र भारतलाई कूटनीतिक नोट पठाएको थाहाभएको छ ।
प्राप्त समाचारअनुसार दार्चुलाको लिपुलेक नाका प्रयोगगर्न चीन र भारतले गत तीनगते गरेको सम्झौताप्रति असहमति जनाउँदै नेपालले गत बिहीबारनै दुवै देशलाई कूटनीतिक नोट पठाएको खुलाशा भएको छ ।
ऐतिहासिक तथ्यका आधारमा नेपाली भूमि लिपुलेकलाई भारत र चीनले व्यापारिक नाकाकारुपमा प्रयोगगर्ने सहमति अस्वीकार्य रहेको सन्देशसहित सरकारले दुवै छिमेकी देशलाई कूटनीतिक नोट पठाएको हो । सरकारले चीन र भारतलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको परराष्ट्रका अधिकारीहरुको भनाई छ ।
प्रधानमन्त्री केपी ओलीले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक नोट पठाउन निर्देशन दिएपछि मन्त्रालयले कूटनीतिक नोट पठाएको बताइन्छ । परराष्ट्र मन्त्रालयले भारतलाई पठाएको कुटनीतिक नोटमा लिपुलेक पासमाथिको आफ्नो दाबी दोहो¥याउँदै स्थापित कूटनीतिक माध्यममार्फत विवाद समाधान गर्नुपर्ने उल्लेख गरेको छ ।
गतहप्ता भारत–चीनबीच भएको सहमतिसँगै सन् २०१५ र त्यसपछि भएका पत्राचारलाई स्मरण गराउँदै मन्त्रालयले उक्त विषय छलफलमार्फत टुंग्याउन चाहेको जनाएको छ ।
चीनलाई पठाइएको कुटनीतिक नोटमा परराष्ट्रले लिपुलेक पासमाथि नेपालकै दाबी दोहो¥याउँदै भारत–चीनबीच भएको पछिल्लो सम्झौतामा आपत्ति जनाएको बताइएको छ । साथै सन् २०१५ मा बेइजिङलाई पठाइएको कूटनीतिक नोटलाई पनि स्मरण र सन्दर्भ गरिएको छ ।


















