काठमाडौं । रातको समयमा बाटोमा एउटा सुटेकेस भेटियो । सुटकेस सामान्य थियो । बाहिरबाट डोरीले बाँधिएको थियो । सुटकेस देख्नेहरुले सोचे कसैको छुट्यो होला, वा कसैले बाटोमा झारेर गयो होला । त्यसमाथि नेपाल भारत सिमानाको नजिकै रहेको क्षेत्रको सडक भएकाले पनि सुटकेस भेटिनु सामान्य नै थियो । तर धेरै बेर उक्त सुटकेस लिन कोही पनि आएन ।
बाटोमा सुटकेस बेवारिसे बनेको देखेपछि स्थानीयले शनिबार राति करिब १० बजेतिर प्रहरीलाई खबर गरे । प्रहरीले रातभरी उक्त सुटकेसलाई पहरा दिएर बसे । प्ररहीलाई लागेको थियो सुटकेस छोडेर जाने मान्छे पक्कै लिन आउँछन् वा अन्य तरिकाले खोजी गर्छन् । तर बिहानसम्म कोही लिन आएनन् । त्यसपछि बिहान प्रहरीले सुटकेस खोल्ने निर्णय गरे । उक्त सुटकेस निकै गर्ह्रौँ थियो । जब प्रहरीले सुटकेस खोले सबैको होसहवास उड्यो । किनकी सुटकेसमा सामान थिएन । एक मृत महिलाको सिंगो शरीर थियो ।
सुन्दै आङ्ग जिरिङ्ग हुने यो घटना रौतहटको हो । यो सुटकेस शनिबार राति गौर नगरपालिका ९ मुडवालगेटस्थित गौर–सिरसिया अन्तर्गत सडकखण्डमा बेवारिसे अवस्थामा भेटिएको हो । राति १० बजेदेखि सुटकेलाई पहरा दिएर बसेका प्रहरीले आइतबार सुटकेस खोलेका थिए । तर अप्रत्यासित रुपमा होस उडाउने दृश्य सामुन्ने आएपछि त्यहाँ केही खैलाबैला मच्चियो ।
प्रहरीले तुरुन्तै घटनास्थल शिल गर्यो । केही बेरमा थप टोली बोलाइयो । फरेन्सिक टिम पनि घटनास्थल पुग्यो । सुटकेसभित्र रहेको शव एक महिलाको थियो । बाहिर सुटकेसलाई डोरिले बाँधिएको थियो भने भित्र महिलाको शव थियो । अचम्मको कुरा त के भने महिलाको शवमा बाहिर देखिनै खासै ठूलो चोटपटक केही पनि छैन । तर उनको शरीरलाई कपडा पट्याएझैँ पट्याएर सुटकेसमा अटाइएको थियो । प्रहरीका अनुसार उनको नाकबाट भने केही रगत बगेको देखिएको छ ।
त्यो सुटकेसभित्र भएको शव थियो रौतहटको माधव नारायण नगरपालिका २ की रुबीकुमारी साहको । जसको उमेर २६ मात्रै भएको छ । परिवारका अनुसार उनी शनिबार बेलुकी करिब ६ बजे माधवपट्टिस्थित डेराबाट बजार जानको लागि गौरतर्फ लागेकी थिइन् । सो क्रममा उनले आमालाई फोन गरेर बजारबाट सामान ल्याउनुपर्नेछ भनेर सोधेकी थिइन् । तर त्यसपछि न फोन आयो, न सामान आयो न छोरी नै आइन् ।
रुबीको ४ वर्षका छोरा छन् । रुबीको विवाह भारतीय नागरिकसँग भएको थियो । तर छोरालाई पढाउनका लागि उनी रौतहटको माधवपट्टिमा डेरा गरेर बस्दै आएकी थिइन् ।
रुबीको शव उनी बस्ने डोराबाट करिब ५ किलोमिटर पर भेटिएको हो । यो स्थान उनी जान लागेको भनिएको गौर बजारबाट ४ किलोमिटर पर पर्छ ।
यो घटना कसले र किन गरायो भन्नेबारे यो समाचार तयार पर्दासम्म खुलिसकेको छैन । तर प्रहरीले अनुसन्धानको सुइ भारततर्फ सोझ्याएको छ । भारतमा हत्या गरी नेपाल ल्याएर छोडिएको हुनसक्ने प्रहरीको आशंका छ । ‘हामीले आशंकाकै भरमा अनुसन्धान अघि बढाउने हो ।’ रौतहट प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्की भन्छन्, ‘हामीले सबै कोणबाट अनुसन्धान अघि बढाएका छौँ ।’
शव भेटिएको ठाउँबाट भारतीय सिमाना जम्मा ५ किलोमिटरको दुरीमा पर्छ । प्रहरीले अनुसन्धानमा प्रभाव पर्नसक्ने भएकोले कतिपय विवरणहरु गोप्य राखेको छ ।
घटनापछि रुबीका भारतीय श्रीमान् पनि नेपाल आएका छन् ।