काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । प्रतिनिधिसभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले बिहान ११ बजेदेखि धर्ना दिएको हो ।
यसअघि बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा महासंघले धर्ना दिएको थियो । शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना दिने कार्यक्रम रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी गराए ।
विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको र बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको निष्कर्ष महासंघको छ । संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको महासंघको धारणाा छ । शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने विधेयकको प्रबन्धमा महासंघले विरोध जनाएको छ ।
शिक्षण काउन्सिलको व्यवस्था र राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व नराखिएकोमा महासंघले असन्तुष्टि जनाएको छ । सम्बोधन हुन छुटेका सबै विषय सहमति अनुसार प्रतिवेदनमा समावेश गर्न र प्रतिनिधि सभामा पेस गर्न नेपाल शिक्षक महासँगले सरकारसँग माग गरेको छ ।

















