काठमाडौं । भुटानमा भएको साफ यू-१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले घरेलु टोली भुटानसँग बराबरी खेलेको छ ।
थिम्पुस्थित चाङ्लिमियाङ स्टेडियममा आइतबार भएको खेलमा नेपालले अग्रता लिएपनि कायम राख्न नसक्दा भुटानसँग १-१ को बराबरी खेल्दै प्रतियोगिता टुङ्ग्याएको हो । दुवै गोल पहिलो हाफमा भएको थियो ।
यसअघि पहिलो खेलमा नेपालले भुटान विरुद्ध २-१ को पुनरागमन जित हात पारेको थियो ।
नेपालले ६ खेल खेल्दा एक जित र एक बराबरीबाट जम्मा ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । नेपाल र बंगलादेशसँग बराबरी खेलेको घरेलु टोद्यी भुटान २ अंकसहित अन्तिम स्थानमा रह्यो ।
यसअघि नै च्याम्पियन बन्ने पक्का भइसकेको भारत आइतबारै भएको खेलमा बंगलादेशसँग ४-३ ले पराजित भयो । तर ६ खेलबाट १५ अंक जोड्दै भारतले उपाधि जित्यो ।
बंगलादेशले चार जित एक बराबरी र एक हारको नतिजासहित १३ अंक जोडेर उपविजेता बन्यो ।


















