धादिङ । चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् ।
राजमार्ग विस्तारका काम गर्ने सिलसिलामा सडक छेउकुनामा राखिएका निर्माण सामग्रीका कारण सवारी आवागमन अवरुद्ध हुन नदिन विभिन्न खण्डमा रहेको खाल्डाखुल्डी तत्काल पुरी सहज बनाउन र आवश्यक स्थानमा ‘स्पिड लाइन’सहित ट्राफिक सङ्केत, ऐना आदिको प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सम्बन्धित सडक आयोजना तथा निर्माण व्यवसायीलाई निर्देश गरे ।
चाडपर्वको समयमा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा असुल गर्नेलगायत गुनासो आउन नदिने गरी आवश्यक सङ्ख्यामा सवारीको व्यवस्था गर्न सम्बन्धित व्यवसायी पनि सहमत भएका छन् । चाडपर्वका समयमा मानिसको आवतजावत बढेसँगै सवारी चापसमेत वृद्धि हुने र सवारी दुर्घटना बढ्न सक्ने हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारीको नियमित प्राविधिक परीक्षण गराई चुस्त अवस्थामा राख्ने, सवारी चालक तथा सहचालकलाई अनुशिक्षण र नियमितरूपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।
राजमार्गको यात्रा सुरक्षित बनाउन र सड़क दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विभिन्न कार्यक्रमसहित नियमित जाँचलाई तीव्र बनाइरहेको छ । चालक सहचालकले मादक पदार्थ सेवन गरेर सवारी हाँकेको भेटिए अभद्र व्यवहारको मुद्दा चलाउने र बढी भाडा असुलेको फेला परे ठगी गरेको कसुरमा मुद्दा चलाइने धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । RSS
















