चीनको सैन्य परेड अमेरिका विरुद्धको षड्यन्त्र : ट्रम्प

16

एजेन्सी । चीनको राजधानी बेइजिङमा भएको विशाल सैन्य परेडलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विरुद्धको षड्यन्त्र भनेका छन्।

दोस्रो विश्वयुद्धमा जापानमाथि विजय प्राप्त गरेको ८० औँ वार्षिकोत्सवको अवसरमा बुधबार बिहान बेइजिङमा भव्य सैनिक परेड आयोजना गरिएको थियो।

सो समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ–उन र इरानी राष्ट्रपति मसउद पेजेश्कियन पहिलोपटक एउटै मञ्चमा देखिए।

यस दृश्यपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त परेडलाई ‘अमेरिकाविरुद्धको षड्यन्त्र’ भन्दै कडा प्रतिक्रिया जनाएका छन्।

उनले आफ्नो ट्रुथ सोसल ‘राष्ट्रपति सी र चीनका अद्भुत जनतालाई शुभकामना। कृपया अमेरिकाविरुद्ध षड्यन्त्र गर्दै गरेका पुटिन र किम जोङ–उनलाई पनि मेरो तर्फबाट अभिवादन पुर्यावइदिनुहोस्।’

ट्रम्पले चीनलाई स्वतन्त्र बनाउन अमेरिकाले ठूलो योगदान गरेको दाबी गर्दै भनेका छन् ‘ठूलो प्रश्न भनेको राष्ट्रपति सीले अमेरिकाले दिएको सहयोग र त्यागलाई स्मरण गर्छन् कि गर्दैनन् भन्ने हो।’

यसअघि, ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई युक्रेन युद्ध अन्त्यका लागि गत अगस्टमा आफ्नै भूमिमा बोलाएर छलफल गरेका थिए। तर अहिलेसम्म युद्धविराम हुन सकेको छैन। युक्रेन युद्धमा रूसलाई सहयोग गर्ने भन्दै उत्तर कोरिया र इरानसँग अमेरिकाको सम्बन्ध झन् तिक्त बन्दै गएको छ।

त्यस्तै, साङ्घाइ कोअपरेसन अर्गनाइजेशन (एससीओ) शिखर सम्मेलनका लागि चीन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सी र पुटिनसँग छुट्टाछुट्टै लामो छलफल गरेका थिए।

उनीहरूबीच काँधमा काँध मिलाएर हिँडेको दृश्यले अमेरिका झनै संसकीत बनेको थियो।

वाशिङ्टनका विश्लेषकहरूले चीन, रूस, उत्तर कोरिया र इरानबीचको सहकार्यलाई अमेरिकाविरुद्ध ध्रुवीकरणको संकेतका रूपमा लिएका छन्।

तर ट्रम्प भने यसबारे चिन्तित नरहेको बताउँदै भनेका छन्, ‘हामीसँग संसारकै सबैभन्दा शक्तिशाली सेना छ। कसैले अमेरिकामाथि आक्रमण गर्न सक्दैन। गरे त्यो उनीहरूको अन्तिम गल्ती हुनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here