काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसदहरुले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै दुई दलका सांसदहरुले निरन्तर संसद बहिष्कार गरेका हुन् । बिहीबार पनि संसद बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई बोल्न समय दिएका थिए । सांसद चौधरीले भिजिट भिसा प्रकरणमा आफ्ना मागको सुनुवाई नभएको भन्दै आन्दोलन जारी रहेको बताए । उनले बेथिति बिरुद्ध बोल्नेलाई जेल हाल्ने काम भएको भन्दै आपत्ति जनाएका थिए ।

















