काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताका टाउका जोडेर गरिने र क्षणभरमै भत्किने खालको एकताको पक्षमा नभएको जनाएका छन् ।
गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले ‘जनता र राष्ट्रको सर्वोपरि हितमा आधारित एकता’को पक्षमा पार्टी रहेको उल्लेख गरेका छन् ।
तत्काल वाम एकताको सम्भावना नरहेको संकेत गरे पनि ओलीले दस्तावेजमा ‘नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख शक्ति हुनेको नाताले आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने दायित्व एमालेकै काँधमा रहेको’ उल्लेख गरेका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख शक्ति हुनेको नाताले आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने दायित्व एमालेकै काँधमा छ । तर कुन एकता र कुन प्रकारको एकता ? मुख्य प्रश्न यो हो । मुख्य नेताहरुको स्वार्थ केन्द्रित ‘एकता’ गर्ने, त्यसपछि पार्टीको सम्पूर्ण ऊर्जा र समय नेताहरूको ‘व्यवस्थापन’ र गुनासो संबोधनमा खर्चिनुपर्ने र स्वार्थ पूरा नहुँदाको दिन क्षणभरमै भत्किने खालको एकता हामीलाई चाहिएको छैन । जनता र राष्ट्रको सर्वोपरि हितमा आधारित एकता मात्रै जनता र कार्यकर्ताले खोजेको एकता हो । त्यस्तो एकता मात्रै दिगो र उपलब्धिपूर्ण हुन्छ ।
पार्टी एकताका दुईवटा ऐतिहासिक परिघटनालाई हामी तुलना गर्न सक्छौं । २०४७ पुसमा तत्कालीन नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकता भई हामीले नेकपा (एमाले) बनायौं । त्यस एकतालाई मन नपराउने, आफ्नो स्वार्थलाई केन्द्रमा राख्ने र स्वार्थ सिद्ध भएन भने पार्टीलाई घात गर्ने केही व्यक्ति त्यतिबेला पनि थिए । तर मूल उद्देश्य एकताको भावनामा दृढ र राष्ट्रिय हितमा निष्ठावान भएका कारण केही असन्तुष्ट नेता पलायन भए पनि पार्टी एकता अक्षुण्ण रह्यो । पार्टी एकताको असल दृष्टान्तका रूपमा आज पनि त्यो सन्दर्भ स्मरणीय छ ।
२०५५ जेठमा हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण गर्यौं । एकताको मूल भावना र उद्देश्य सही थियो । तर केही नेताहरूले आफ्नो स्वार्थ पूरा नभएपछि कथित व्यवस्थापनको किचलोमा पार्टीलाई फसाउँदै लगे । पार्टीभित्रको अन्तरविरोधमा खेल्दै गए, पार्टी कब्जा गर्ने हरसम्भव कोसिस गरे । त्यस्ता यावत प्रायस असफल भएपछि अन्ततोगत्वा पार्टीलाई विभाजित गरे । पार्टी पङ्क्तिको ठूलो हिस्सा एकतालाई जोगाइरहन चाहन्थ्यो, तर त्यो प्रयास हुन सकेन । विभाजनलाई अस्वीकार गर्ने नेकपा (माओवादी केन्द्र) का महत्वपूर्ण कमरेडहरू नेकपाको निरन्तरताका रूपमा नेकपा (एमाले) मा नेकपाको निरन्तरताका रूपमा नेकपा (एमाले) मा दृढतापूर्वक टिकिरहनुभयो ।
त्यसैले आज हामी स्वार्थ केन्द्रित अर्थात् टाउका जोडेर गरिने एकतामा होइन अरू कार्यकर्ताहरूलाई जगैदेखि समेट्दै आन्दोलनलाई वैचार, संगठनात्मक र भावनात्मक रूपमा एकताबद्ध बनाउने बाटोमा छौं । आजको सन्दर्भमा यही नै उपयुक्त बाटो हो ।
आज हामी पुनः सामाजिक-आर्थिक रुपान्तरण, सुशासन र राष्ट्रिय स्वाभिमानको यात्रामा समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यका साथ अगाडि बढिरहेका छौं ।
कम्युनिस्ट आन्दोलनले सय वर्ष पूरा गरिरहँदा नेपाललाई समृद्ध, समुन्नत, सामाजिक न्यायले सुसज्जित र समाजवादको प्रारम्भिक अवस्थामा प्रवेश गराउने हाम्रो संकल्प छ ।


















