ठूला सञ्जालले चासो देखाएन

22

काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराएको चार दिन बितिसक्दा पनि ठूला सञ्जालले खासै चासो देखाएका छैनन् ।

सञ्चार मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार अहिलेसम्म लिंक्डइन, टेलिग्राम र स्न्यापच्याटले मात्रै चासो देखाएका छन् । बाँकी कुनैले पनि औपचारिक चासो देखाएका छैनन् ।

यसअघि फेसबुक सञ्चालक कम्पनी मेटाले सूचीकरणका लागि चासो राखेको बताइएको पनि भए पनि आधिकारिक नभएर कम्पनीकै एक कर्मचारीले चासो राखेको सञ्चार मन्त्रालय स्रोतले जानकारी दियो ।

निष्क्रिय गराउनुअघि मेटाका प्रतिनिधि नेपाल आएर सूचीकरणमा चासो राखेका थिए ।

तर फर्किएपछि ‘नेपालको प्रक्रिया झन्झटिलो रहेको हुँदा सूचीकरण हुन नसक्ने’ औपचारिक जानकारी गराएको पाइएको छ ।

“हामीले पहिले पनि मेटालाई सूचीकरणका लागि आग्रह गरेका थियौँ,” मन्त्रालयका एक अधिकारीले भने,“ती प्रतिनिधि यहाँ हुँदा सूचीकरणमा चासो देखाएका थिए तर फर्किएर सिंगापुर पुगेपछि नेपालको प्रक्रिया झन्झटिलो भएकाले सूचीकरण हुन नसक्ने जानकारी गराए ।”

उनका अनुसार ‘यहाँबाट हुन्छ भनेर गए । उता गएपछि अर्का कुरा गरे ।’

सञ्चार मन्त्रालयका एक अधिकारीले केहीबेर अघि बाह्रखरीसँगको कुराकानीमा मेटाले त्यसपछि कुनै चासो देखाएको पाइएको छैन ।

”युट्युबले पनि चासो देखाएको छैन,” ती अधिकारीले भने, “निष्क्रिय गरिसकेपछि आएको इमेल मेटाकै कर्मचारीको भए पुष्टि भएको छ । तर त्यसपछि सोधखोज केही छैन । त्यसमा सूचीकरणका लागि के के चाहिन्छ भनेर सोधिएको थियो । त्यो कुरा हामीले पहिला पनि जानकारी गराएका थियौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here