शिक्षिकामाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले तेह्रथुमको आठराई गाउँपालिका ७ थोक्लुङमा रहेको नाम्जाङ आधारभूत विद्यालयकी प्रधानाध्यापकलाई पक्राउ गरेको छ।
प्रधानाध्यापक तारादेवी खतिवडालाई प्रहरीले पक्राउ गरेर जातीय छुवाछुत कसूरमा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। उनले आफ्नै विद्यालयको शिक्षिका एलिसा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोप छ। शिक्षिकामाथि जातीय विभेदको आरोपमा खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्थुमका डिएसपी लिलाराज लामिछानेले बताए।
‘खतिवडालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं। विद्यालयभित्रै जातीय विभेद भएको उजुरी आएको छ। बाँकी हामी अनुसन्धान गर्दैछौं,’ उनले भने।
एलिसाले आइतबार प्रधानाध्यापक खतिवडाविरूद्ध जाहेरी दिएकी थिइन्। खतिवडा करार शिक्षक हुन् भने एलिसा निजी स्रोतकी शिक्षिका हुन्। यो घटना भने भदौ ११ गतेको हो। त्यसदिन श्रमदानको समापन सँगै तिज मनाउने कार्यक्रम पनि थियो।
‘श्रमदान गर्ने र तिजमा खिर खाने कार्यक्रम थियो। त्यही अनुसारले अलि छिट्टै स्कुल पुगेको थिएँ,’ एलिसाले भनिन्, ‘म पहिले श्रमदान गर्ने ठाउँमा गएको थिएँ, मलाई प्रधानाध्यापकले त्यहीँ जानु भन्नुभएको थियो। तर त्यहाँ कोही नदेखेपछि म खाना पकाउने कोठाको ढोकैमा पुगेको थिएँ। एलिसा मिस तपाईं किन यहाँ आउनु भएको? तपाईले छोएको अरूले खादैनन्। यहाँ नआउनु, नछुनु भनेर भन्नुभयो।’
एलिसाले तपाईं शिक्षक भएर पनि यसरी जातीय भेदभाव गर्न मिल्छ भनेर सोधेकी थिइन्। उल्टै आफूलाई ‘तपाईं शिक्षक भएर पनि यति बुझ्नुहुँदैन’ भनेर थर्काएको उनले जनाइनन्। उनले आफूलाई जातीय विभेद गरेको प्रमाण पनि राखेकी थिइन्। उनले प्रधानाध्यापकसँगको कुरा अन्य शिक्षकहरूलाई पनि सुनाइन् तर कसैले केही बोलिनन्।
दोस्रो दिन विद्यालयमा कुनै पनि छलफल भएन। उनले व्यवस्थापन समितिमा समेत यसबारे कुरा राखेकी थिइन्। त्यसपछि भदौ १३ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष लिम्बुले प्रधानाध्यापकलाई राखेर छलफल गरेका थिए।
‘छलफलमा तपाईंले झुटो आरोप लगाउनु भयो भन्दै प्रधानाध्यापकले गाली गर्नुभयो। गल्ती स्वीकार गर्नु भएन,’ उनले भनिन्, ‘रेकर्ड छ भनेपछि सबैलाई सुनाए तर पनि गल्ती स्वीकार गर्नु भएन। अझै शिक्षक भएर नबुझेको भन्दै गाली गर्नुभयो।’ त्यसपछि उनी कानुनी लडाइँतर्फ अघि बढेकी हुन्। परिवारसँग सल्लाह गरेर भदौ १४ गते शनिबार इलाका प्रहरी कार्यालय गएको उनको धारणा छ।
‘इलाका प्रहरी कार्यालयमा यस्ता मुद्दाहरू नहेर्ने भनेपछि १५ गते आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हुँ,’ उनले भनिन्, ‘प्रहरीले पनि सुरूमा आरोप मात्र लगाएको भनेपछि उजुरी लिन मानेन। तर रेकर्ड सुनाएपछि दर्ता गर्नुभयो।’
दर्ता भएपछि जिल्ला प्रहरीले प्रधानाध्यापक खतिवडालाई १८ गते बुधबार नियन्त्रणमा लियो। त्यसपछि पनि एलिसा विद्यालयमा अध्ययन गराउन गइरहेकी छन्। त्यो दिनमात्र होइन, यसअघि पनि विद्यालयबाटै पटक-पटक विभेद भोग्दै आएको दाबी उनको छ।
यसअघि गत वर्ष असोजको अन्तिम साता विद्यालयमा अभिभावहरूसँग छलफल भएर खाना खाने समयमा भित्र पस्न नदिइएको पनि उनले बताइन्।
‘खाजा खाने बेला भएपछि मिस तपाईं एकछिन बाहिर जानुहोस् न भन्दै पठाइएको थियो। शिक्षकहरूले खाजा खाने बेलामा कुनै न कुनै बहानामा बाहिर पठाउने गर्नुहुन्थ्यो। सुरूआती दिनमा यस्ताकुरा बुझिन,’ उनले भनिन्।
सरस्वती पूजाका दिन पनि कुनै पनि गतिविधिमा भाग लिन नदिइएको उनको धारणा छ।


















