काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
रास्वपाले पार्टीको विभिन्न केन्द्रीय विभागमा सदस्यहरु मनोनयन गर्दै जिम्मेवारी हेरफेर समेत गरेको छ ।
यसअनुसार केन्द्रीय मानवीय विकास प्रवर्धन विभागको उपप्रमुखमा पवन देवकोटा, केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारा, केन्द्रीय विधेयक मन्थन विभागको सदस्यमा भोजराज क्वालिटी, केन्द्रीय मानव अधिकार विभाग सदस्यमा गणेश पौडेल र केन्द्रीय संगठन विभाग सदस्यमा दिपक विश्वकर्मा मनोनीत भएका छन् ।
रास्वपाले बालीनाली नष्ट गर्ने र कृषकको उठीबास लगाउने बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न भारत भ्रमणमा संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सांसद पठाउने भन्ने सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सो अध्ययन भ्रमणमा सांसदको सट्टामा सम्बन्धित विज्ञलाई पठाउँदा उपयुक्त हुने देखिएकोले विज्ञ पठाउन अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

















