‘जेनजी शहीद’को सम्मानमा सुसेलाको सांस्कृतिक कार्यक्रम

19
काठमाडौं । सुसेला काव्यशालाले गत भदौ २३ र २४ गते जेनजी युवाहरूले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा मारिएका शहीदहरूलाई सम्झिएको छ। सुसेलाले आफ्नो नियमित काव्यशालाको सातौँ श्रृङ्खला जेनजी शहीदको स्मृति विशेष कार्यक्रम गरेको हो।
शनिबार काठमाडौंको माइतीघरमा सुसेलाले शहीदहरूको सम्झनामा चारवटा गीत श्रद्धाञ्जलीस्वरुप प्रस्तुत गरेको हो।
कार्यक्रममा शहीदहरूको सम्झनामा (भूपी शेरचन), वी स्याल ओभरकम (पिट सिगर), त्यो पुलिस–प्रशासन, त्यो न्यायालय (देवव्रत) र त्यो जुत्ता साथीको (विनोदविक्रम केसी) गीतहरू गाइएको थियो।
ती गीतहरूलाई सुसेला समूहका अञ्जान बाबु, आरती विष्ट, बिराज ढुङ्गाना, श्रवण गौतम, सवीर कार्की, सौरभ ढकाल, अभिषेक शर्माले प्रस्तुत गरेका थिए।
जेनजी युवाहरूले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनमा सरकारी दमन हुँदा भदौ २३ गते १९ युवाहरू शहीद भएका थिए। उनीहरू अधिकांशको छाती र टाउकोमा ताकीताकी गोली प्रहार भएको थियो। त्यसको प्रतिरोधमा भदौ २४ गते युवाहरूले गरेको विशाल प्रदर्शनीले नेपालको राज्यसत्ता उल्टिएको थियो।
हालसम्म उक्त आन्दोलनमा ७३ जनाले ज्यान गुमाइसकेका छन्। परिवर्तनका लागि युवाहरूले गरेको उक्त विद्रोहमा समर्थन जनाउँदै सुसेलाले शहीदहरूको सपना यथाशीघ्र पूरा गर्न माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here