काठमाडौं । विन्डोज १० को सपोर्ट समाप्त हुने समय नजिकिँदै छ । यसै अक्टोबरमा विन्डोज १० का लागि सेक्युरिटी फिक्सहरू समाप्त हुँदैछन् । यो अवसरलाई सदुपयोग गर्दै गुगलले विन्डोज प्रयोगकर्ताहरूलाई क्रोमबुक इकोसिस्टममा आकर्षित गर्न दुई-तर्फी रणनीति अपनाएको छ: नयाँ उपकरणहरूको आक्रामक विज्ञापन र पुराना पीसीहरूका लागि निःशुल्क क्रोम ओएस फ्लेक्स अपरेटिङ सिस्टमको उपलब्धता ।
गुगलले विन्डोज १० प्रयोगकर्ताहरूलाई लक्षित गर्दै आफ्नो होम पेजमा नयाँ विज्ञापनहरू देखाउन सुरु गरेको छ । यी प्रासङ्गिक विज्ञापनहरू त्यस्ता प्रयोगकर्ताहरूलाई देखाइँदैछ, जसले सायद आफ्नो पीसीको समय अब सकिन लागेको सुनेका छन् ।
गुगलको विज्ञापनको सन्देश स्पष्ट छ: “नयाँ ल्यापटपको समय, क्रोमबुक प्लस पाउनुहोस् ।” विज्ञापनले विन्डोज १० का लागि सेक्युरिटी फिक्सहरू यसै अक्टोबरमा समाप्त हुने कुरा उल्लेख गर्दै भन्छ: “त्यो ल्यापटपमा स्विच गर्नुहोस्, जसलाई कहिल्यै भाइरस लागेको छैन ।”
पीसीवर्ल्डले गुगलको यो मार्केटिङलाई ‘धेरै राम्रो’ भनेको छ । यो यस्तो समयमा आएको छ, जब माइक्रोसफ्टले प्रयोगकर्ताहरूलाई विन्डोज ११ मा जानका लागि कडा दबाब दिइरहेको छ । जसलाई पीसी वर्ल्डले ‘अप्रिय प्रस्ताव’ र ‘निरन्तर विज्ञापनको दबाब’ भनेर उल्लेख गरेको छ । धेरै प्रयोगकर्ताहरू कोपाइलट ‘एआई’को उपयोगितामाथि प्रश्न उठाइरहेको र विन्डोजसँग पहिलो पटक निराश भइरहेको सन्दर्भमा गुगलले फरक विकल्प अघि सार्न राम्रो दाउ भेटेको छ ।
यद्यपि, क्रोमओएसमा कहिल्यै भाइरस नलागेको गुगलको दाबी केही हदसम्म शंकास्पद छ । यो सत्य हो कि विन्डोजका लागि बनेका भाइरसहरूले लिनक्समा आधारित क्रोमओएसलाई असर गर्दैनन् । तर प्रयोगकर्ताहरूले क्रोमबुकमा मलिसियस एक्सटेन्सनहरू (malicious extensions) वा एन्ड्रोइड एपहरू (Android apps) इन्स्टल गर्न सक्छन्, जुन गुगलको आधिकारिक सुरक्षा उपायहरू पार गरेर पनि आउन सक्छन् । फिशिङ र अन्य सोसल इन्जिनियरिङ आक्रमणहरू क्रोमबुकहरूमा पनि रोकिँदैनन् ।
पछिल्ला क्रोमबुक मोडलहरूमा १० वर्षको सपोर्ट उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ । क्रोमबुकहरू सामान्यतया समान सुविधाहरू भएका विन्डोज ल्यापटपहरूभन्दा सस्ता हुन्छन् । समस्या आए पनि क्रोमबुकहरूलाई सहजै सञ्चालनमा राख्न सजिलो हुन्छ ।
पुराना ल्यापटपलाई क्रोमओएस फ्लेक्स मार्फत नयाँ जीवन
विन्डोज ११ मा अपग्रेड गर्न नसक्ने वा नचाहने प्रयोगकर्ताहरूका लागि पुराना हार्डवेयरहरूलाई पुनर्जीवित गर्न गुगलले आफ्नो निःशुल्क उपाय क्रोमओएस फ्लेक्स प्रस्तुत गरेको छ ।
विन्डोज १० को सपोर्ट समाप्त भएपछि लाखौँ ल्यापटपहरू ‘फोर्स्ड रिटायरमेन्ट (काम नलाग्ने बनाउने) को सामना गर्ने अवस्थामा छन् । क्रोमओएस फ्लेक्सलाई गुगलले विशेष गरी पुराना ल्यापटपहरूमा इन्स्टल गर्न र हार्डवेयरलाई पुनर्जीवित रूप, फास्ट रेस्पोन्सिभ र सशक्त प्रतिरक्षा प्रणाली प्रदान गर्न डिजाइन गरेको हो । महँगो नयाँ क्रोमबुक नकिनीकनै क्रोम इकोसिस्टममा प्रवेश गर्ने यो उत्तम तरिका हो ।
क्रोम ओएस र क्रोमओएस फ्लेक्सबिचको भिन्नता
क्रोमओएसलाई क्रोम वेब ब्राउजर चलाउनका लागि सुरुदेखि नै डिजाइन गरिएको हो । यो सरल र कम हार्डवेयर क्षमता आवश्यक पर्ने अपरेटिङ सिस्टम हो । यो अपरेटिङ सिस्टम लिनक्समा आधारित छ ।
क्रोमओएस फ्लेक्स क्रोमबुकहरूमा पाइने क्रोमओएसभन्दा केही हदसम्म सीमित छ । यसमा गुगल प्ले स्टोर र एन्ड्रोइड एपहरूको सपोर्ट हुँदैन । यसले गुगल सेक्युरिटी चिपको उच्च सुरक्षा स्तरको फाइदा लिन सक्दैन ।
यस अपरेटिङ सिस्टममा विशेषीकृत र व्यावसायिक सफ्टवेयर वा हेभी भिडिओ गेमहरू चलाउने क्षमताको कमी हुन्छ । यद्यपि, विन्डोज १० लाई सुरक्षा अपडेटबिना चलाउनुको तुलनामा यो असाध्यै सुरक्षित अपरेटिङ सिस्टम हो ।
विन्डोज १० लाई क्रोमओएस फ्लेक्समा परिवर्तन गर्ने तरिका
विन्डोज १० ल्यापटपलाई क्रोमओएस फ्लेक्समा परिवर्तन गर्न केही निश्चित टुल र आवश्यकता पूरा गरेको हुनु पर्छ । यसका लागि एउटा विन्डोज १० ल्यापटप, ८ जीबी वा सोभन्दा बढी स्टोरेज भएको यूएसबी ड्राइभ वा एसडी कार्ड, स्टेबल इन्टरनेट कनेक्सन र एउटा गुगल अकाउन्ट चाहिन्छ । यति भइसकेपछि निम्न अनुसारका चरणहरू पच्छ्याउनु होस् ।
१. आफ्नो पीसी तयार गर्नुहोस्
(Image: © Future / Microsoft)
यदि तपाईँ विन्डोज ११ मा अपग्रेड गर्न सक्नुहुन्न वा गर्न चाहनुहुन्न भने तपाईँले आफ्नो पीसीलाई क्रोमओएस फ्लेक्सका लागि तयार पार्न सक्नु हुन्छ । क्रोम ओएस फ्लेक्स चलाउने दुई तरिका छन्ः एउटा यूएसबी ड्राइभबाट चलाउने (यो उल्ट्याउन सकिने प्रक्रिया हो, जसले तपाईँलाई पुनः विन्डोजमा फर्किन अनुमति दिन्छ) । र अर्को हार्ड ड्राइभमा पूर्ण रूपमा इन्स्टलेसन गर्ने, जुन अपरिवर्तनीय हुन्छ ।
गुगलले क्रोमओएस फ्लेक्स सहज रूपमा चलाउन सकिने प्रमाणित पीसीहरूको सूची उपलब्ध गराएको छ । तर उक्त सूचीमा नभएका पीसीमा पनि यसले ठिकै ढङ्गले काम गर्न सक्छ ।
त्यसैले पूर्ण रूपमा इन्स्टलेसन गर्नु अघि क्रोमओएस फ्लेक्स परीक्षण गरेर हेर्दा राम्रो हुन्छ । साथै अगाडि बढ्नु अघि महत्त्वपूर्ण फाइलहरूको ब्याकअप लिन पनि जरुरी छ ।
क्रोमओएस केवल तपाईँको कम्प्युटरको सौन्दर्यतामा ल्याउने सुधार मात्र होइन, यो एक पूर्ण नयाँ अपरेटिङ सिस्टम हो । जुन निरन्तर अपडेट हुन्छ र उपयोगी सुविधाहरूले भरिएको छ । यसमा सीमितताहरू पनि छन्, तर यो विन्डोजको राम्रो विकल्प हो र पुरानो हार्डवेयरलाई काम नलाग्ने बनाएर फाल्नुको साटो उपयोगमा राख्ने उत्तम तरिका हो ।
२. क्रोमबुक रिकभरी युटिलिटी इन्स्टल गर्नुहोस्
(Image: © Future / Microsoft)
अब गुगल क्रोम खोल्नुहोस् र त्यहाँबाट Chromebook Recovery Utility फेला पार्नुहोस् (त्यसका लागि यहाँ क्लिक गर्न पनि सक्नु हुन्छ) र Add to Chrome मा क्लिक गर्नुहोस् । त्यसपछि एड्रेस बारको छेउमा रहेको पजल आइकनमा क्लिक गर्नुहोस्, Recovery Utility खोल्नुहोस् र Get started छनोट गर्नुहोस् ।
जब तपाईँलाई Identify your Chromebook गर्न भनिन्छ, Select a model from a list रोज्नुहोस् । त्यसपछि manufacturer अन्तर्गत Google ChromeOS Flex र product अन्तर्गत ChromeOS Flex चयन गर्नुहोस् ।
३. आफ्नो रिकभरी इमेज बनाउनुहोस्
ल्यापटपलाई Chromebook मा रूपान्तरण गर्ने प्रक्रियाको स्क्रिनशट (Image: © Future / Microsoft)
अब यूएसबी ड्राइभ लगाउनुहोस् र सूचीबाट त्यसलाई चयन गर्नुहोस् । यदि सोधिएको खण्डमा विकल्प देखिन्छ भने, Stable ChromeOS Flex build छनोट गर्नुहोस् र त्यसपछि Create Now मा क्लिक गर्नुहोस् ।
यो प्रक्रियाले केही समय लिन सक्छ । तर जब तपाईँलाई ‘Your recovery media is ready’ भन्ने सन्देश देखिन्छ, तब तपाईँ आफ्नो यूएसबी ड्राइभ हटाउन सक्नुहुन्छ ।
४. इन्स्टलेसन सुरु गर्नुहोस् (Boot to the installer)
ल्यापटपलाई Chromebook मा रूपान्तरण गर्ने प्रक्रियाको स्क्रिनशट (image: © Future)
अब आफूले क्रोमबुकओएस फ्लेक्स इन्स्टल गर्न चाहेको पीसी बन्द गर्नुहोस् र क्रोमओएस फ्लेक्स ड्राइभ लगाउनुहोस् । पीसी अन गर्नुहोस् । यदि यूएसबी ड्राइभ स्वत: पहिचान हुन्छ भने त्यसलाई छनोट गरेर अर्को चरणमा अघि बढ्नुहोस् ।
यदि विन्डोज सामान्य रूपमा सुरु हुन्छ, भने तपाईँलाई आफ्नो सिस्टमको बायोस (BIOS) मा प्रवेश गर्नुपर्ने हुन्छ ।
यसका लागि आफ्नो पीसीको बुट कि (boot key) कुन हो भनेर गुगलमा खोज्नुहोस् र पीसी पुनः सुरु गर्दा उक्त कि (key) बारम्बार थिच्नुहोस् ।
बायोस मेनुमा पुगेपछि बुट अप्सन (boot options) फेला पार्नुहोस् । त्यसमा यूएसबी ड्राइभलाई प्राथमिकता (priority) दिनुहोस् । त्यसपछि सेटिङ सेभ गरेर कम्प्युटर रिस्टार्ट गर्नुहोस् ।
५. क्रोमओएस फ्लेक्स परीक्षण गर्नुहोस्
ल्यापटपलाई Chromebook मा रूपान्तरण गर्ने प्रक्रियाको स्क्रिनशट । (image: © Future)
अब तपाईँलाई दुई वटा विकल्पहरू देखाइनेछन् – Install ChromeOS Flex वा Try it first ।
पहिला Try it first रोज्नुहोस्, ताकि तपाईँको हार्डवेयरमा क्रोमओएस फ्लेक्स ठिकसँग काम गर्छ कि गर्दैन भनेर पक्का गर्न सकियोस् ।
सबै चरणहरू पूरा गरेर पीसीलाई वाई-फाईमा कनेक्ट गर्नुहोस् र आफ्नो गुगल अकाउन्ट साइन इन गर्नुहोस् । त्यसपछि क्रोमओएस फ्लेक्स परीक्षण गर्नका लागि केही वेबसाइटहरू खोल्नुहोस् ।
यदि कर्सर, स्पिकर र ब्राउजिङ स्पिड सबै कुरा ठिकठाक चलिरहेको छ भने तपाईँ अर्को चरणमा अघि बढ्न सक्नुहुन्छ ।
यद्यपि यो परीक्षण संस्करणमा केही साना त्रुटिहरू (जस्तै कहिलेकाहीँ फ्रिज हुने) हुन सक्छन्, जुन पूर्ण किसिमको इन्स्टलेसनपछि हराउने गर्छन् ।
६. ब्याकअप लिने अन्तिम मौका
ल्यापटपलाई क्रोमबुकमा रूपान्तरण गर्ने प्रक्रियाको स्क्रिनशट । (Image: © Future)
यदि तपाईँ क्रोमओएस फ्लेक्सको परीक्षण संस्करणसँग सन्तुष्ट हुनुहुन्छ भने अब तपाईँ पूर्ण तवरको इन्स्टलेसन (full installation) का लागि अगाडि बढ्न सक्नुहुन्छ । तर याद राख्नुहोस्, यसले तपाईँको पीसीबाट विन्डोज पूर्ण रूपमा मेटाउनेछ । त्यसैले अघि बढ्नु अघि तपाईँका महत्त्वपूर्ण फाइलहरूको ब्याकअप लिने यो अन्तिम मौका हो ।
यदि तपाईँलाई केही कुरा छुट्यो जस्तो लाग्छ भने क्रोमओएस बन्द गर्नुहोस् । त्यसपछि यूएसबी ड्राइभ निकाल्नुहोस् र कम्प्युटर अन गर्नुहोस् । यसले तपाईँको पीसी पुनः विन्डोजमा बुट हुनेछ ।
एक पटक फेरि महत्त्वपूर्ण फाइलहरू जाँच गर्नुहोस् र ब्याकअप लिनुहोस् । त्यसपछि विन्डोज अन्तिम पटक बन्द (Shut Down) गर्नुहोस् ।
७. क्रोमओएस इन्स्टल गर्नुहोस्
ल्यापटपलाई Chromebook मा रूपान्तरण गर्ने प्रक्रियाको स्क्रिनशट । (तस्विर: © Future)
अब आफ्नो यूएसबी ड्राइभ पुनः लगाउनुहोस् र पीसी अन गर्नुहोस् । यस पटक इन्स्टल क्रोमओएस फ्लेक्सको विकल्प चयन गर्नुहोस् र सेटअपका चरणहरू पुनः पूरा गर्नुहोस्, जसमा तपाईँको वाई-फाई र गुगल अकाउन्टका विवरणहरू पुनः राख्नु पर्ने हुन्छ ।
यति गरेपछि तपाईँको ल्यापटप पूर्ण रूपमा रूपान्तरण भएर अब एक वास्तविक क्रोमबुक बन्छ ।
८. आफ्नो ड्राइभ खाली गर्नुहोस्
ल्यापटपलाई Chromebook मा रूपान्तरण गर्ने प्रक्रियाको स्क्रिनशट । (Image: © Future)
तपाईँले आफ्नो यही क्रोमओएस फ्लेक्स ड्राइभ अन्य ल्यापटपमा परीक्षण र इन्स्टलेसनका लागि पनि प्रयोग गर्न सक्नुहुन्छ । तर यदि यसलाई पुनः सामान्य स्टोरेजका लागि प्रयोग गर्न चाहनुहुन्छ भने त्यसलाई खाली गर्नुपर्ने हुन्छ ।
अघिको दोस्रो चरणमा प्रयोग गरिएको क्रोमबुक रिकभरी युटिलिटी खोल्नुहोस् । तर यसपटक सेटिङ कग (settings cog) आइकनमा क्लिक गर्नुहोस्, Erase recovery media चयन गर्नुहोस् । त्यसपछि ड्राइभ छान्नुहोस् र Continue क्लिक गर्नुहोस् । अब ड्राइभ मेटिनेछ र तपाईँको मनपर्ने अपरेटिङ सिस्टम अनुसार फर्म्याट गर्न तयार हुनेछ ।
अब आफ्नो कम्प्युटर अन्तिम पटक पुनः रिस्टार्ट गर्नुहोस् । बायोसमा प्रवेश गर्नुहोस् (४ नम्बरमा रहेको उपाय अनुसार) र आवश्यक भएमा बुट अप्सन पुन: डिफल्टमा फर्काउनुहोस् । techpana

















