काठमाडौं । आज असोज ३१ गते शुक्रवारदेखि प्रदर्शनमा आएको कथानक चलचित्र ‘जेरी अन टप’ ले दर्शकमाझ उत्साह बढाएको छ । आज बिहानैदेखि अधिकांश सिनेमा हलका शोहरु हाउसफूल भैरहेका फिल्मका वितरक किरण श्रेष्ठले जनाएका छन् ।
चलचित्रको टिकट बुकिङमा देखिएको आक्रमकता पनि चर्चाको विषय बन्दै आएको छ । काठमाडौंका मल्टिप्लेक्सदेखि काठमाडौं बाहिरका सिंगल थिएटरहरुमा समेत दर्शकको राम्रो अकुपेन्सी देखिएको छ ।
यसैबीच, चलचित्र प्रदर्शनअघि आयोजित पत्रकार सम्मेनलका क्रममा दिइएको अन्तर्वार्तामा चलचित्रका अभिनेता अनमोल केसीले आफूलाई नेपोकिट भन्ने गरेको कुराको बारेमा आफ्नो धारणा स्पष्ट पारेका छन् ।
उनले आफू नेपोकिटको रुपमा चिनिनु पाएकोमा भाग्यमानी भएको जनाएका छन् । उनी भन्छन् – ‘यस्तो लिजेन्ड्री एक्टर नै आफ्नो घरमा बुबाको रुपमा पाएको छु । चलचित्रको रिहल्सलका लागि कतै जानै पर्दैन, बुबाको अगाडि रिहल्सल गर्दा मलाई अभिनयमा निकै सहयोग हुन्छ । ‘जेरी अन टप’ का लागि त हामीले घरमै बुबा–छोराको रुपमा रिहल्सल गरेका थियौँ । घर बाहिर पुगेपछि मात्र हामी कलाकारको रुपमा रहन्छौं ।’
त्यस्तै, अभिनेता केसीले बुबा भुवन केसी नै नेपालको स्थापित कलाकार भएकोले आफूलाई भविष्यमा समेत राम्रो हुने गरेर काम गर्न सल्लाह दिने गरेको जनाएका छन् ।


















