काठमाडौं । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित सडकमा पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना.३३ प ६८५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१५ नयाँबस्ती टोल बस्ने २० वर्षीय साजन तमाङ र मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१४ खयरघारी टोल बस्ने २२ वर्षीय किरण मोक्तानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-११ दमारस्थित सडकमा दमारबाट अरुणखोलातर्फ आउँदै गरेको ग.प्र.०४-००१ प ४११३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१० करमघारी बस्ने २३ वर्षीय सुदिप बरालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१८ भोईलस्थित सडकमा औरहीबाट जनकपुरतर्फ आउँदै गरेको प्र.२-०२-००४ प ९२८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१४ रजौल बस्ने १६ वर्षीय अर्जुन दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार अन्य १ जनाको न्यूरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















