जेनजीहरूलाई विभाजित गर्ने प्रयास नगर्न चेतावनी

19

काठमाडौं। हामी नेपालका संयोजक सुदन गुरुङले जेनजीहरूलाई विभाजित गर्ने प्रयास नगर्न राजनीतिक दलहरूलाई चेतावनी दिएका छन् ।

बिहीबार माइतीघरमण्डलमा जेनजी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा उनले जेनजीहरूलाई विभाजित गर्ने प्रयासमा पूराना राजनीतिक दलहरू लागेको आरोप लगाए ।

‘जेनजीहरूलाई कमजोर बनाउने उनीहरूको रणनीति थियो, उनीहरूलाई लागेको होला हामीले उनीहरूको रणनीति बुझेका छैनौं,’ गुरुङले भने, ‘जेनजीहरूलाई विभाजित गर्न खोज्ने नेताहरूले यस्तो भ्रम नराखे हुन्छ ।’

जेनजीको एकता बिथोलेर नेताहरूले जेनजीभन्दा त कांग्रेसै ठिक, एमाले नै ठिक हो भन्ने बनाउन खोजिरहेको जिकिर गरे । ‘अब नेपाली नागरिक भएर सोचौं, एउटै झन्डामुनि मात्रै बसौं र देश विकास गरौं,’ उनले भने।

पाइला चाल्नुअघि आफूहरूले हरेक मुभको हिसाबकिताब गरिरहेको उनको भनाइ थियो । ‘अहिले हामी (जेनजीहरू) लाई छुट्याउनका लागि त नेपालीहरूलाई नै छुट्याउनुपर्‍यो, त्यो तागत उनीहरूसँग छैन,’ उनले थपे।

जेनजी अगुवाहरूमध्ये को राम्रो, को नराम्रो भन्ने भाष्य बनाउने काममा नेताहरू लागेको उल्लेख गर्दै उनले आक्रोश पोखे, ‘नराम्रो त्यो नेताहरू हो, अहिलेको समयसम्म देश बिगार्ने नेताहरू हो ।’

अहिलेसम्म त्यस्ता नेता नचिनेर नागरिकले तिनलाई भोट हालिरहेको बताएका गुरुङले अब नागरिकले आफ्नो सोच परिवर्तन गर्नुपर्ने बताए । त्यसपछि मात्र समाज परिवर्तन हुने उनको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here