काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले महिला विश्वकप विजेता भारतीय टोलीलाई ५१ करोड भारतीय रुपैयाँको नगद पुरस्कार दिने घोषणा गरेको छ।
आईसीसी महिला विश्वकप २०२५ को उपाधि जितेपछि सोमबार बीसीसीआईका सचिव देवजीत साइकियाले एएनआईसँगको कुराकानीमा यो घोषणा गर्दै यो ऐतिहासिक उपलब्धिका लागि टोलीलाई सम्मानस्वरूप पुरस्कार दिने बताएका हुन्।
‘बीसीसीआई निकै खुशी छ र यो पुरस्कार रकम आईसीसीबाट आएको नभएर बोर्डले आफ्नै तर्फबाट ५१ करोड रुपैयाँ दिने निर्णय गरेको हो। यो रकम खेलाडी, चयनकर्ता र प्रशिक्षक अमोल मुझुमदारसहित सम्पूर्ण समर्थन टोलीलाई वितरण गरिनेछ’ उनले भनेका छन् ।
यो पुरस्कार रकम आईसीसीले तोकेको आधिकारिक पुरस्कार बाहेकको अतिरिक्त हो। प्रतियोगिता सुरु हुनुअघि नै आईसीसी अध्यक्ष जय शाहले महिला विश्वकपको पुरस्कार रकम बढाउने घोषणा गरेका थिए। जसअनुसार विजेता टोलीले ४.४८ मिलियन अमेरिकी डलर (झण्डै ४२ करोड भारतीय रुपैयाँ) प्राप्त गर्नेछ।
पहिले सन् २०२२ मा अस्ट्रेलियाली महिला टोलीले जित्दा १.३२ मिलियन डलर पाएको थियो भने २०२३ मा पुरुष विश्वकप जित्दा अस्ट्रेलियाली पुरुष टोलीले ४ मिलियन डलर पाएको थियो।
भारतले आइतबार नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा दक्षिण अफ्रिकालाई हराउँदै पहिलोपटक महिला विश्वकपको उपाधि जितेको थियो ।


















