काठमाडौं । वैदेशिक रोजगारका जानकार सुशील ढुङ्गानाले वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा जाने नेपालीहरु पाइला–पाइलामा ठगिने गरेको जनाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले वैदेशिक रोजगारको क्रममा ठगी र शोषण व्यापक रहेको बताएका हुन् । उनले वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा पुगेर जेल पर्नेहरुको अवस्था पनि नाजुक रहेको जनाए।
सरकारले २०७२ सालदेखि मलेसिया, कतार, साउदीअरब, दुवइ, कुबेत, बहराइन, ओमनलगायतको देशमा फ्रि भिसा, फ्रि टिकटमा कामदार पठाउन थालेको भए पनि मेनपावर व्यवसायीहरुले उनीहरुसँग चर्को शुल्क लिएर १० हजारको मात्रै रसिद दिने गरेको उनले जनाए ।
वैदेशिक रोजगारीमा जानेहरु मेनपावर कम्पनीदेखि विमामा पनि ठगिने गरेको उनले बताए । वैदेशिक रोजगारका जानाकार ढुङ्गानाले वैदेशिक रोजगारीको वर्गीकरण गरेर समस्याको समाधान खोजिनुपर्ने जनाए ।
उनले वैदेशिक रोजगारीमा गइसकेका नागरिक, वैदेशिक रोजगारको प्रक्रियामा रहेका नागरिक र कालन्तरमा वैदेशिक रोजगारीमा जाने नागरिक गरी वर्गीकरण गरेर उनीहरुको समस्याको समाधान पनि सोहीअनुसार खोजिनुपर्ने जनाए । वैदेशिक रोजगारीको नाममा हरेका दिन दुई हजार नेपाली कुनै न कुनै रुपमा ठगिने गरेको उनको धारणा छ ।


















