दुर्गा प्रसाईले सुकुम्बासी बस्ती भत्काउन नदिने

19

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले सुकुम्बासी बस्ती भत्काउन काठमाडौं महानगरका मेयर बालेन शाहको प्रयास सफल हुन नदिने जनाएका छन्।

आइतबार बिहान मनोहराको सुकुम्बासी बस्तीमा कोणसभा गर्दै प्रसाईले बालेन र राजु पाण्डेविरुद्ध लड्न आफूले सहयोग गर्ने जनाएका हुन्।

उनले बालेनमाथि विभिन्न आरोप लगाउँदै सुकुम्बासी बस्तीमा महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घरमा पुगेर श्रीमती र परिवारलाई बाहिर निकाल्न उक्साए ।

बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदै गर्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखिएका हुन्। उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरे।

प्रसाईंले सुकुम्बासीलाई लछारपछार गर्नेको घर परिवारलाई पनि त्यस्तै गर्ने कडा चेतावनी दिए। उनले सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनीसमेत दिएका छन्।

यस क्रममा उनले बालेन शाहसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड रुपैयाँ खाएको आरोपसमेत लगाएका छन्।

दलहरूले सुकुम्बासीहरूलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको बताउँदै प्रसाईंले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए। महानगरको अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने तयारी भइरहेको बेला उनको यो कदमलाई मेयर बालेन शाहविरुद्धको राजनीतिक मोर्चाबन्दीका रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here