फिलिपिन्समा करिब १० लाख मानिस सुरक्षित स्थानमा सार्न बाध्य

20

एजेन्सी । यस वर्ष फिलिपिन्सलाई प्रत्यक्ष असर पार्ने सबैभन्दा शक्तिशाली आँधी सुपर टाइफुन फङ–वोङ (स्थानीय नाम उवान) ले आइतबार देशको उत्तर–पूर्वी तटमा नजिकिँदै गर्दा विनाशकारी हावा र मुसलधारे वर्षाका साथ प्रहार गर्न थालेको छ।

तीव्र गतिका कारण देशभर बिजुली अवरुद्ध भएको छ भने करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ।

फङ–वोङले दक्षिणपूर्वी एसियाली द्वीपसमूहको करिब दुई–तिहाइ भू–भागलाई आफ्नो एक हजार ६०० किलोमिटर (९९४ माइल) चौडा हावा र वर्षाको घेराभित्र ल्याउने सम्भावना छ। यो आँधी फिलिपिन्स पुग्नुअघि नै प्रशान्त महासागरबाट तीव्र रूपमा नजिकिँदै थियो, त्यही बेला देश अझै पनि हालैको टाइफुन कलमेगीले पारेको व्यापक विनाशसँग जुधिरहेको थियो। कलमेगीले गत मङ्गलबार देशका मध्य प्रान्तहरूमा कम्तीमा २२४ जनाको ज्यान लिएको थियो।

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले कलमेगीको विनाश र फङ–वोङबाट हुनसक्ने सम्भावित क्षतिका कारण राष्ट्रव्यापी आपतकाल घोषणा गर्नुभएको छ।

फिलिपिन्स मौसम विभागका अनुसार फङ–वोङले आइतबार दिउँसोसम्ममा पूर्वी क्याटान्डुआनेस प्रान्तको पान्डान सहर नजिक तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ। एक सय ८५ किलोमिटर प्रतिघण्टा (११५ माइल प्रतिघण्टा) को निरन्तर हावा र २३० किलोमिटर प्रतिघण्टा (१४३ माइल प्रतिघण्टा) सम्मका झोकासहितको यो आँधी उत्तरपश्चिम दिशातर्फ सर्दै अरोरा वा इसाबेला प्रान्तको तटमा आइतबार बेलुका वा सोमबार बिहान अवतरण गर्न सक्ने बताइएको छ। मुसलधारे वर्षा र बाक्लो कुहिरोका कारण प्रभावित क्षेत्रमा दृश्यता अत्यन्त सीमित बनेको छ।

फिलिपिन्समा १८५ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढी वेगका उष्णकटिबन्धीय चक्रवातहरूलाई ‘सुपर टाइफुन’ का रूपमा वर्गीकृत गरिन्छ — यो वर्गीकरण हालका वर्षहरूमा बढ्दो चरम मौसमी अवस्थासँग सम्बन्धित जोखिमलाई विशेष रूपमा औँल्याउन लागू गरिएको हो।

देशको उत्तरपूर्वी क्षेत्र विशेषगरी बिकोल प्रान्तका तटीय गाउँहरूमा बाढी र माटोको बहावको जोखिम अत्यधिक रहेको बताइएको छ। त्यहाँ देशकै सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक मायोन पनि अवस्थित छ। अधिकारीहरूले उच्च जोखिम भएका क्षेत्रमा रहेका नौ लाख १६ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिसकेको जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here