सनसनीपूर्ण बयान दिन थालेपछि प्रहरीले सञ्जयको ‘ब्रेन म्यापिङ’ गरायो

48

काठमाडौं । भदौ २९ मा काठमाडौंको गैह्रीगाउँ स्थित दिव्या स मिलमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भएका २३ वर्षीय  सञ्जय भण्डारीको ‘ब्रेन म्यापिङ’ गरिएको छ। एकपछि अर्को सनसनीपूर्ण बयान दिन थालेपछि उनको ब्रेन म्यापिङ गरिएको हो ।

नेपालमा अपराध अनुसन्धानमा पहिलो पटक यो विधिको प्रयोग गरिएको हो । ब्रेन म्यापिङमार्फत मस्तिष्कभित्र संग्रह भएका तरंगको चाल अनुसार सम्बन्धित व्यक्तिले सत्य बोलिरहेका छ या छैन भन्ने संकेत पाउन सकिन्छ ।

काठमाडौँको गैह्रीगाउँ स्थित दिव्या स: मिलमा ४ जनाको हत्यामा संलग्न आरोपितले अन्यत्र पनि हत्या गरेको दाबीसँगै अनुसन्धान अधिकृतहरु ‘हैरानी’मा परेका छन् । हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका सञ्जय भण्डारीले काठमाडौँमा अन्य ३ ठाउँ र सिन्धुपाल्चोकमा एक ठाउँमा हत्या गरेका जिकिर गरेका हुन् ।आरोपितको दाबीमा विश्वास नलागेपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको हाे । जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा उनको ‘ब्रेन म्यापिङ’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।

अपराध अनुसन्धानमा ‘ब्रेन म्यापिङ’ परीक्षण नेपालमा पहिलो पटक गराइएको हो । स्वास्थ्य मन्त्रालयले केन्द्रीय कारागारमा मनोचिकित्सकको टिम सहित ‘ब्रेन म्यापिङ’ केन्द्र स्थापना गरेको छ । केन्द्रीय कारागारमा लगेर भण्डारीको ब्रेन म्यापिङ गरिएको हाे ।ब्रेन म्यापिङबाट आरोपितको मानसिक अवस्थाको बारेमा थाहा हुन्छ ।

पोलिग्राफ गराउन सम्भव नभएपछि प्रहरीले उनको ब्रेन म्यापिङ गरेको हो । पोलिग्राफ गर्दा आरोपीसँग प्रश्नोत्तर गरेर ढाँटेको पत्ता लगाइन्छ । तर, सञ्जय बोल्न नसक्ने हुनाले उनको ब्रेन म्यापिङ गरिएको अनुसन्धानमा संलग्न अधिकृतले बताए।

सञ्जय भण्डारीले भदौ २९ मा राति सःमिलमा नवीन राई, कुमार भुजेल, सुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेको आरोप छ । सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका सञ्जय जन्मजात नै बोल्न सक्दैन थिए । सञ्जयलाई प्रहरीले दोभासेको सहयोगमा लेख्न लगाएर अनुसन्धान गरिरहेको छ ।

सोधपुछको क्रममा भण्डारीले नक्साल स्थित भाटभटेनी, सुकेधारा, रातोपुल र सिन्धुपाल्चोकमा पनि हत्या गरेको बताएपछि अनुसन्धान अधिकृतहरू चकित भएका छन् । सञ्जय ‘सिरियल किलर’ हुनसक्ने आशङ्कामा प्रहरीले उनको ब्रेन म्यापिङ गराएको हो । ब्रेन म्यापिङ परीक्षणको रिपोर्ट आउन भने बाँकी नै रहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here