जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह

17

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।

मन्त्री डा.गौतमले एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहको अवसरमा भिडियो सन्देश जारी गर्दै चिकित्सकले लेखेको औषधी पूर्ण डोज र आवश्यक मात्रामा एन्टिबायोटिकको सेवन गर्न अनुरोध गर्नु भएको हो ।

उहाँले एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधीको जथाभाबी प्रयोगले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (प्रतिजैविक प्रतिरोध) भई  बिरामी पर्दा सामान्य औषधीले नछुने र गम्भीर स्वास्थ्य समस्या निम्तने हुँदा यस्तो आग्रह गर्नुभएको हो ।

उहाँ भन्नुहुन्छ, “जथाभाबी एन्टिबायोटिकको प्रयोग गर्दा अथवा पशुपक्षीको आहारमा मिसाएर खुवाउँदा वा खाद्य सामग्रीमा मिसाएर खाँदा त्यस्तो खानेकुरा वा माछामासु खाँदा जैविक प्रतिरोधी निम्तने गर्छ ।”

एन्टिबायोटिक औषधीले काम नगर्दा अति नै कडा खालका औषधी दिनुपर्ने र त्यो औषधीले पनि निको नहुने अवस्था सिर्जना हुने मन्त्री डा.गौतमको भनाइ छ ।

उहाँले प्रतिजैविक प्रतिरोध हुन नदिन जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ । मन्त्रालयका सचिव डा.विकास देवकोटाले एन्टिमाइक्रोबियल रेसिस्टेन्स स्वास्थ्य उपचारमा एक जटिल समस्या बन्दै आएको बताउँदै  सलाई समयमै सम्बोधन गर्न सकेन भने स्वास्थ्य प्रणालीले नराम्रो क्षति बेहोर्नु पर्ने बताउनुभयो ।

उहाँका अनुसार यो चुनौतिको सामना गर्ने बिकल्प एन्टिमाइक्रोबियल स्टिवार्डसिप हो । अस्पताल स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र यसको निम्ति नीति, मार्गदर्शन र प्राविधिक सहयोग प्रदान गर्न उहाँले प्रतिबद्धा गर्नुभयो ।

स्वास्थ्य संस्थामा औषधी प्रयोगको निगरानी, डेटा र तथ्याङ्क अभिलेख,र चिकित्सकको क्षमता विकासलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।

एन्टिमाइक्रोबियल स्टिवर्डसिप कार्यक्रम केवल नीति नभई, व्यवहार परिवर्तनको यात्रा भएकाले स्वास्थ्यकर्मीको सक्रिय सहभागिता अत्यावश्यक रहेको जीकिर गर्नुभयो ।

प्रतिजैविक प्रतिरोध, एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रण सबैको साझा जिम्मेवारी रहेको उहाँको भनाइ छ । औषधिको प्याकेटमा रातो धर्का दिएका औषधी स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सन बिना सेवन नगर्न चिकित्सकको आग्रह छ ।

‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ नाराका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह देशव्यापी रूपमा मनाइँदैछ । सप्ताह मङ्सिर ८ गतेसम्म सञ्चालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here