जसपा, नाउपा र रामुपाबीच गठबन्धन

16

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा गठबन्धन बनाएर लड्ने भएका छन्।

तीन दलले आइतबार काठमाडौंमा एक सहमति पत्रमार्फत संयुक्त रूपमा चुनावमा जाने निर्णय गरेका हुन् ।

सहमति अनुसार तीनै पार्टीले नागरिक उन्मुक्ति पार्टी नेपालमा दर्ता रहेको जाँतो (चकिया) चिह्नलाई साझारुपमा प्रयोग गर्नेछन्।

यी साना तीन दलले समान विचारधारा र लक्ष्य भएका अन्य राजनीतिक शक्तिहरूलाई पनि यही साझा चिह्नमा समाहित हुन आह्वान गरेका छन्।

सहमति पत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले हस्ताक्षर गरेका छन्।

यस कदमलाई दलहरूले विस्तारै तीव्र बाइपोलर हुँदै गएको राष्ट्रिय राजनीतिमा वैकल्पिक गठबन्धन निर्माणको प्रयासका रूपमा अघि सारेका छन्।

आइतबार मात्रै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ नेता छुट्टिँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here