वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलामाथि तथा त्यस वरपरको हवाई क्षेत्रलाई ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने कडा चेतावनी जारी गरेका छन् । वामपन्थी नेता निकोलस मदुरोसँगको लामो समयदेखि चलिरहेको राजनीतिक तथा कूटनीतिक गतिरोधमा यो नवीनतम वृद्धि मानिएको छ ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेख्दै अनुरोध गर्नुभयो, “सबै एयरलाइन्स, पाइलटहरू, लागुऔषध व्यापारीहरू तथा मानव बेचबिखनकर्ताहरूका लागि, कृपया भेनेजुएलाको आकाश र वरपरको आकाशलाई यसको सम्पूर्ण क्षेत्रमा बन्द भएकोजस्तै विचार गर्नुस् ।” उनले आफूले दिएको चेतावनीको कारण वा सम्भावित कदमबारे थप विस्तृत विवरण भने प्रस्तुत गरेका छैनन् ।
यसबीच, अमेरिकी प्रशासनले क्यारिबियन क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो विमानवाहक जहाजसहित ठूलो सैन्य शक्ति तैनाथ गर्दै भेनेजुएलामाथि दवाव बढाइरहेको अवस्थामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।
वासिङ्टनले यो सैन्य गतिविधि लागुऔषध तस्करी रोक्नका लागि गरिएको दाबी गर्दै आएको छ, तर काराकासले भने यो बहानामार्फत शासन परिवर्तन नै अन्तिम लक्ष्य रहेको आरोप दोहो¥याउँदै आएको छ ।
विस्तारित सैन्य अभियान र लगातार भइरहेका कारबाहीका कारण क्षेत्रीय तनाव झन् चुलिन पुगेको छ । यसैबीच न्युयोर्क टाइम्सले शुक्रबार प्रकाशित गरेको एक रिपोर्टअनुसार राष्ट्रपति ट्रम्प र राष्ट्रपति मदुरोबीच गत हप्तामात्रै फोन वार्ता भएको र सम्भावित रूपमा संयुक्त राज्य अमेरिकामा प्रत्यक्ष भेटबारे पनि प्रारम्भिक छलफल भएको उल्लेख छ ।
ट्रम्पले भेनेजुएलाबाट आउने लागुऔषध तस्करी रोक्न लागिएको प्रयास ‘महत्त्वपूर्ण चरणमा आइपुगेको’ भन्दै काराकाससँगको तनावलाई सार्वजनिकरूपमा बढाएको एक दिनपछि दुवै नेताबीचको फोन संवादबारेको यो समाचार सार्वजनिक भएको हो ।


















