गैर आवासीयले खेलकुदमन्त्रीलाई कार्यक्रममा आमन्त्रण नगरेकाे प्रष्ट्याए

37

काठमाडौं । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको प्रष्ट्याएको छ ।

मन्त्रिपरिषदको पुस २१ गतेको बैठकले मन्त्री गुप्ताको अमेरिका भ्रमण स्वीकृत गर्ने निर्णय गरिसकेको बेला परिषद्का प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गरेर अमेरिकामा युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई नबोलाइएको स्पष्ट पारेका हुन् ।

‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं,’ उप्रेतीले भनेका छन्, ‘साथै, परिषद्को तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन ।’

प्रवक्ता उप्रेतीले परिषद् कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम र कथित युवा कार्यक्रमसँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध नरहेको पनि स्पष्ट पारेका छन् ।

‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आधिकारिक स्वीकृति बिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, संकलन (फन्डराइजिङ) या गतिविधिहरू पूर्ण रूपमा अवैध र अमान्य ठहरिने छन्,’ विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता उप्रेतीले परिषद्को नाम र पहिचानको दुरुपयोग गर्ने व्यक्ति र समूहविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने पनि विज्ञिप्तमा उल्लेख गरेका छन् ।

‘यस विषयको गम्भीरतालाई मध्यनजर गर्दै यस्ता गैरकानुनी तथा अनधिकृत गतिविधिहरू सम्बन्धी सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइने छ,’ उप्रेतीले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here