एजेन्सी । आफ्नो समयका चर्चित मिडफिल्डर टेरी योराथको ७५ वर्षको उमेरमा निधन भएको छ । उनी वेल्स तथा लिड्स युनाइटेडका पूर्वखेलाडी हुन् ।
उनले टोट्टनहाम र स्वान्सी सिटीजस्ता चर्चित क्लबबाट पनि व्यावसायिक फुटबल खेलेका थिए । उनले सन् १९६९ देखि सन् १९८१ को बीचमा वेल्सको राष्ट्रिय टोलीबाट पनि ५९ खेल खेलेका थिए ।
टेरी योराथसहितको टोलीले लिड्सलाई सन् १९७४ मा पहिलो श्रेणीको लिग उपाधि चुमाएको थियो । उनले आफ्नो टोलीलाई एफए कप, युरोपियन कप र कप विनर्स कपमा उप–विजेता बनाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनले ४२ खेलमा वेल्सको राष्ट्रिय टोलीको कप्तानी पनि गरेका थिए । सक्रिय खेलजीवनपछि उनी प्रशिक्षण कार्यमा सक्रिय भएका थिए । उनले वेल्सकै राष्ट्रिय टोलीमा पनि प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरे ।
उनले लेबननको राष्ट्रिय फुटबल टोलीमा पनि प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । यसका अतिरिक्त उनले स्वान्सी सिटी, ब्राडफोर्ड सिटी, कार्डिफ सिटी, सेफिल्ड वेडनसडेलगायतका क्लबमा पनि प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
















