कोइलाखानी विष्फोटमा ज्यान गुमाएका नेपालीकाे दाहसंस्कार

4

खोटाङ । छिमेकी देश भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा मृत्यु भएका ३ जना नेपालीको दाहसंस्कार गरिएको छ ।

माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा ज्यान गुमाएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको दाहसंस्कार गरिएको हो ।

पूर्णबहादुर र सुरेन्द्र एकैघरका दाजुभाइ हुन् । कोइलाखानीभित्र विनासकारी डाइनामाइट विष्फोट हुँदा पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै र नरबहादुरको उपचारको क्रममा माघ २३ गते मृत्यु भएको थियो ।

एकै गाउँका ३ युवाको शवलाई भारत सिलाङको झालुपारामा लगेर माघ २६ गते दाहसंस्कार गरिएको घटनापछि मेघालय पुगेका प्रकाश खपाङ्गी मगरले जानकारी गराए । शवलाई नेपाल ल्याउनका लागि कठिन भएकाले मेघालयमै दाहसंस्कार गरिएको उनले जनाए। ‘३ वटा शवलाई तीन वटै एम्बुलेन्समा राख्दै गाउँ पुर्‍याउन महंगो खर्च लाग्ने भएकाले खपाङ्गी दाजुभाइबीचमा सल्लाह गरेर मेघालयमै दाहसंस्कार गरिएको हो,’ उनले भने । शवलाई नेपाल ल्याउनका लागि नेपाल सरकारका तर्फबाट कुनै किसिमको सहयोग प्राप्त पनि नभएको मृतक परिवारको गुनासो छ ।

सम्पत्ती कमाउन गएका आफन्त कोइलाखानीको विष्फोटमा परेर ज्यान गुमाएपछि बराहपोखरीको सालघारी गाउँ शोकमग्न भएकाे छ ।  विष्फोटमा परेका बराहपोखरी सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते छन् ।

मेघालय पुगेका बराहपोखरी वालम्पाका तारा बल मगर भने सकुशल छन् । तारा बलले नै फोनमार्फत घटनाबारे जानकारी गराएका हुन् । उनीहरु रोजगारी खोज्दै गत पुस ३ गते मेघालय गएका थिए । विष्फोटमा दर्जनौं कामदार कोइलाखानीको सुरुङभित्रै फसेको अनुमान छ । यस्तै, मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको काजकिरिया सुरु भएको छ ।

विष्फोटमा मृत्यु भएको खबर आएपछि मृतकका छोराहरु आफ्नो संस्कार अनुसार केस काटेर माघ २५ गतेदेखि किरियामा बसेको स्थानीय युवा नेता नेत्रविक्रम राउतले जानकारी गराए ।  राई रोजगारीका लागि गत असोज ९ गते मेघालय गएका थिए । घटनामा वेपत्ता भनिएका राईको शव अस्पतालमा लगिएको अवस्थामा भेटिएको हो । उनको शरीरको आधारमा परिचान गरिएको खबर आएको राउतले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here