काठमाडौं । श्रीलंकामा आयोजित छैटौँ दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा नेपाली महिला टोलीले भारतलाई पराजित गर्दै ऐतिहासिक स्वर्ण पदक जितेर देशको गौरव बढाएको छ।
खेलेरै जीवन गुजारा गर्न गाह्राे भइरहेकाे अवस्थामा पनि नेपाली चेलीहरुले देखाएको कौशल खेलले अन्तर्राष्ट्रिय खेल मञ्चमा सुनाैलाे अक्षरले नेपालको नाम काेरेर अन्तराष्ट्रिय जगत चिनाउन सफल भएकाे छ।
महिला टोलीले सेपाकताक्रोको क्वाड तर्फ यो ऐतिहासिक स्वर्ण पदक प्राप्त गर्न सफल भइन् । महिला टोलीमा कप्तान सुमित्रा डंगोल, उषा महर्जन, चन्द्रा चौधरी, इनु चौधरी र पायल शाहीले सहभागी जनाएकी थिइन् ।
पुरुष टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै दुईवटै ईभेन्टमा रजत पदक हात पारे। त्यस्तै पुरुष खेलाडीहरूमा दिपेश जङ थापा, रोशन तामाङ, रबिन भट्टराई, राजन नेपाली र विकास कुमाल रहेका छन् ।
सेपाकताक्रो नेपाली राष्ट्रिय टिममा खेल प्रमुख नेत्र प्रसाद गुरुङ, टिम मेनेजरमा अकल बहादुर तामाङ, प्रशिक्षकमा नर बहादुर थापा र श्याम श्रेष्ठले टोलीलाई सम्हालेका थिए।
प्रतियोगितामा नेपालसँगै श्रीलंका, पाकिस्तान, भारत र बंगलादेशका टोलीहरू सहभागी थिए। नेपालका खेलाडीहरूले देशको नाम उच्च राख्दै नयाँ इतिहास रचेर सबैको मन जित्न सफल भएका छन्। केन्द्रीय अध्यक्ष नेत्र प्रसाद गुरुङले यो उपलब्धिलाई ऐतिहासिक क्षणको रूपमा मूल्यांकन गर्दै खेलाडीहरूमा हार्दिक बधाई दिएका छन्।


















