प्रमद्वारा अख्तियारकाे प्रसंसा

13
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत , आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलगायत । तस्बिर : गोपाल दाहाल / रासस

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कामको प्रसंसा गरेकी छन् ।

बुधबार आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अख्तियारले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्युन हुन नसकेकामा भने चिन्ता व्यक्त गरिन् ।

‘मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणका लागि आयोगले निभाउँदै आएको भूमिका महत्वपूर्ण छ,’ प्रधानमन्त्री कार्कीले भनिन् । पछिल्लो समय अझै सक्रिय र निर्भिक रूपमा सशक्त ढंगले आयोगले काम गरिरहेको पनि प्रधानमन्त्री कार्कीले टिप्पणी गरिन् ।

‘मुलुकमा सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण पहिलो र अनिवार्य सर्त हो । समाजमा न्याय र सुरक्षाको न्यूनतम मापदण्ड पनि भ्रष्टाचारविहीन अवस्थामा प्रत्याभूत हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

त्यसैले नै हरेक राष्ट्रले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने उनले बताइन् । ‘हाम्रो देशमा पनि संविधानमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो निकायको व्यवस्था गरेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्,‘यसले गर्ने कारबाहीका कारण प्रत्येक कर्मचारी र राष्ट्रसेवक पदाधिकारी एक प्रकारको डर अवश्य पैदा भएको छ ।’

नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धताअनुरूप भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना निर्माणको अन्तिम चरणमा पुगेको पनि प्रधानमन्त्री कार्कीले जानकारी दिइन् ।

भ्रष्टाचार सम्बन्धी सुनुवाइका लागि विशिष्टकृत प्रकारको विशेष अदालत पनि नेपालमा रहेको उनले स्मरण गराइन् । ‘भ्रष्टाचार नियन्त्रण गर्न हामीकहाँ पर्याप्त संरचना छन् । पर्याप्त कानुनी र नीतिगत व्यवस्था छन्,’ उनले भनिन् । तर हामीकहाँ किन भ्रष्टाचार कम भइरहेको छैन भन्ने कुरा चिन्ताजनक रहेको उनले बताइन् ।

जेनजी आन्दोलनको म्यान्डेट स्मरण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणको प्रमुख जिम्मेवारी सरकार र कार्यकारी अंगकै हुने पनि बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here