काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाएको छ ।
आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोगका अध्यक्ष कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन् । जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको अध्ययन गरी कारबाहीका लागि सिफारिस गर्न सरकारले पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले करिव ६ महिना लगाएर अध्ययन गरी आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो । जेनजी आन्दोलनका क्रममा ७७ जनाको ज्यान गएको थियो भने करिव ८७ अर्बको सम्पत्ति नष्ट भएको सरकारले यसअघि नै जनाइसकेको छ।
जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक भने भइसकेको छैन । तस्बिरमा प्रतिवेदनको निकै मोटो देखिन्छ । तर त्यसमा कति पृष्ठ छन्, कति भाग र अनुसूची छन् भन्ने खुलाइएको छैन ।
प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइसकेपछि आयोगका एक सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले आयोगले गहन र सुक्ष्म रुपमा अध्ययन गरी प्रतिवेदन तयार पारेको बताए । उनले आयोगले कस कसलाई कारबाही गर्नु पर्छ भन्ने कुरा प्रतिवेदनमै उल्लेख गरिएको पनि जानकारी दिए ।
जाँचबुझका क्रममा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित तत्कालीन निजामती र सुरक्षा निकायका प्रमुख तथा फिल्डमा खटिएकाहरुसँग बयान लिएको थियो ।


















