काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंले पत्रकार मायालु लामालाई सम्मान गरेको छ । विहिवार गोंगबुमा आयोजित एक कार्यक्रममा पत्रकार लामा सम्मानित हुनु भएको हो । संघले सम्मान पत्र तथा नगद सहित पत्रकार लामालाई सम्मान गरेको हो । सो अवसरमा लामासँगै पत्रकार रविराज रिमाललाई समेत सम्मान गरिएको छ ।
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय तथा रेडियो क्रान्तिकी सम्पादक लामाले विगत लामो समयदेखी विभिन्न जिल्लाका चेपाङ, मुसहर, वनकरिया लगायत समुदायका बालबालिका तथा महिलाहरुका लागि कहिले शैक्षिक सामाग्री त कहिले उनीहरुलाई खाद्यान्नका साथै महिलाहरुका लागि स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्दै आउनु भएको छ ।
पत्रकार लामा सामाजिक तथा मानवीय सेवासँगै महिला तथा बालबालिकाको हकहितका क्षेत्रमा लामा एकदमै क्रियाशील हुनुहुन्छ ।
लामासँग विभिन्न संघ संस्थाको सहकार्यमा विदेशमा गएर अलपत्र परेका महिलालाई नेपाल फर्काउने देखि महिला हिंसा न्युनिकरण, दलालहरु मार्फत बेचिन पुगेका महिला तथा बालबालिकालाई फिर्ता ल्याउनुका साथै बालश्रम न्युनिकरण लगाएत थुप्रै कामहरुको अनुभव छ ।
स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंका अध्यक्ष कृष्णराज तिमल्सिनाको सभापतित्व तथा प्रा.डा. सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा स्वतन्त्र पत्रकारहरुलाई सम्मान कार्यक्रममा स्वागत मन्तव्य संघका पूर्व अध्यक्ष पुष्कर पाण्डेले राख्नुभएको थियो ।
यसैगरि शुभकामना मन्तव्य राख्ने क्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पत्रकारिताको गरिमा र स्वतन्त्र पत्रकारिताको चर्चा गर्नु भयो । कार्यक्रममा टोखा नगरपालिका वडा नं. ९ का अध्यक्ष रामभक्त घिमिरे, विनायक अस्पतालका प्रबन्ध निर्देशक तथा भरत प्रसाद लामिछाने स्मृति प्रतिष्ठानका अध्यक्ष केपी लामिछाने, संघका केन्द्रीय महासचिव सुरेश श्रेष्ठ, वरिष्ठ पत्रकारहरू श्रीराम पुडासैनी र इन्दुल केसी, संघका ललितपुर अध्यक्ष सरिता थपलिया र पूर्व अध्यक्ष उपेश नवक, सल्लाहकार कृष्ण सापकोटा, राष्ट्रिय अभिभावक संघका केन्द्रीय सदस्य गोविन्द प्रसाद भूषाल, आम नेपाली टेलिभिजनका सञ्चालक डोल प्रसाद थापा लगायतले शुभकामना मन्तव्य राख्नु भयो । कार्यक्रममा बालाजु प्रहरी वृत्तका डिएसपि यमराज बञ्जाडे लगायतका व्यक्तित्वहरुको विशिष्ट उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन गर्नुहुँदै सभापति कृष्णराज तिमल्सिनाले पत्रकारिता जगत पूर्ण रूपमा स्वतन्त्र हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जबसम्म पत्रकारिता स्वतन्त्र हुँदैन, तबसम्म यसले आफ्नो वास्तविक धर्म निर्वाह गर्न सक्दैन । स्वतन्त्र पत्रकारहरूलाई संगठित गर्दै उनीहरूको हकहित र प्रोत्साहनका लागि स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौं सदैव क्रियाशील रहनेछ ।”
कार्यक्रममा संयोजक एवं काठमाडौं जिल्ला शाखाका पूर्व उपाध्यक्ष सावित्रा बस्नेतले सम्मानित व्यक्तित्वहरूको योगदान र संघले प्रदान गर्दै आएको ’स्वतन्त्र पत्रकार सम्मान’को महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले संघले पत्रकारितामा क्रियाशील श्रमजीवीहरूको मनोबल बढाउन निरन्तर यस्ता सम्मान कार्यक्रम गर्दै आएको समेत जानकारी दिनुभयो ।


















