जन्मदर्ता, विवाह दर्ता ‘नागरिक एप’ मार्फत उपलब्ध गराउने तयारी

16

काठमाडाैं । नेपाल सरकारले जन्मदर्ता, विवाह दर्ता लगायतका पञ्जीकरणसम्बन्धी प्रमाणपत्रहरू अब छिट्टै ‘नागरिक एप’ मार्फत उपलब्ध गराउने तयारी अघि बढाएको छ।

सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार राष्ट्रिय पञ्जीकरणसम्बन्धी विवरणहरू नागरिक एपमा एकीकृत गर्ने प्रारम्भिक प्रक्रिया सुरु भइसकेको छ। उनले तथ्याङ्क एकीकरणपछि नागरिकहरूले जन्मदर्ता, विवाह दर्ता तथा सम्बन्धबिच्छेद दर्तासम्बन्धी प्रमाणपत्रहरू डिजिटल माध्यमबाटै प्राप्त गर्न सक्ने जानकारी दिए।

विभागका अनुसार प्रणाली विकास र आवश्यक परिमार्जनको काम भइरहेकाले केही समयभित्रै सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने उद्देश्यसहित विभिन्न सार्वजनिक सेवाहरू अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ। सोही अभियानअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीका प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) समेत नागरिक एपबाट उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ।

यसैबीच, नेपाल इन्जिनियरिङ परिषद्सँगको सहकार्यमा व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि नागरिक एपमार्फत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ४५ दिनभित्र थप सेवाहरू सञ्चालनमा ल्याउने लक्ष्य तय गरे पनि सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले तोकिएको समयभन्दा अघि नै काम सम्पन्न गर्न निर्देशन दिएका छन्।

मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत पनि नागरिक एपमा सेवा विस्तार गर्ने विषय समेटिएको छ।

हाल नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्न सकिने सुविधा सञ्चालनमा आइसकेको छ। नयाँ सेवाहरू थपिएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको लक्ष्य रहेको छ।

सरकारले डिजिटल माध्यमबाट सेवा प्रवाह विस्तार हुँदा सेवाग्राहीलाई समय र लागत बचत हुने तथा सेवा प्रणाली अझ पारदर्शी र प्रभावकारी बन्ने अपेक्षा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here