काठमाडौं । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा दिनेशनाथ गोंगलको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आफ्नै घरमा मंगलबार बिहान निधन भएको उनीसँग निकट रहेका न्युरोलोजिस्ट डा प्रकाश विष्टले जानकारी दिए।
चिकित्सा क्षेत्रमै सीमित नरही उनले युवावस्थामा प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय भूमिका खेलेका थिए। पम्प्लेट वितरण र जुलुसमा सहभागिताका कारण उनी पक्राउ समेत परेका थिए।
सन् १९६१ मा नेपाल फर्किएपछि उनले वीर अस्पतालमा काम सुरु गर्दै सीमित स्रोत–साधनका बीच जटिल शल्यक्रियाहरूको अभ्यास थाले। त्यतिबेला न पर्याप्त उपकरण थिए, न आधुनिक निगरानी प्रणाली। तर पनि उनले जोखिम मोलेर नयाँ विधिहरूको सुरुवात गरे।
उनको योगदानले नेपालमा आधुनिक शल्यचिकित्साको आधार निर्माण गरेको मानिन्छ। डा विष्टका अनुसार उनी केवल कुशल सर्जन मात्र नभई दूरदर्शी गुरु पनि थिए। डा गोंगलको निधनले नेपाली चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको छ।

















