वरिष्ठ चिकित्सक डा दिनेशनाथ गोंगलको निधन

4

काठमाडौं  ।  नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा दिनेशनाथ गोंगलको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आफ्नै घरमा मंगलबार बिहान निधन भएको उनीसँग निकट रहेका न्युरोलोजिस्ट डा प्रकाश विष्टले जानकारी दिए।

उनको मंगलबार नै दाहसंस्कार गर्ने तयारी भएको छ। उनको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको डा विषटले बताए।  उनले आफ्नो करिअरभरि न्युरोसर्जरी मात्र होइन, पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक सफलतापूर्वक सम्पन्न गरेका थिए। उनी चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का संस्थापक निर्देशक समेत थिए।
वीर अस्पतालमा करिब चार दशक सेवा दिएका उनले ४० हजारभन्दा बढी शल्यक्रिया गरेका थिए। १९८९ चैतमा काठमाडौंमा जन्मिएका डा गोंगलको पुख्र्यौली घर तानसेन हो। जुद्धोदय स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले त्रिचन्द्र कलेजबाट आइएस्सी र बीएस्सी पूरा गरे। त्यसपछि भारतको दरभंगा मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरेका उनले बम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरे।

चिकित्सा क्षेत्रमै सीमित नरही उनले युवावस्थामा प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय भूमिका खेलेका थिए। पम्प्लेट वितरण र जुलुसमा सहभागिताका कारण उनी पक्राउ समेत परेका थिए।

सन् १९६१ मा नेपाल फर्किएपछि उनले वीर अस्पतालमा काम सुरु गर्दै सीमित स्रोत–साधनका बीच जटिल शल्यक्रियाहरूको अभ्यास थाले। त्यतिबेला न पर्याप्त उपकरण थिए, न आधुनिक निगरानी प्रणाली। तर पनि उनले जोखिम मोलेर नयाँ विधिहरूको सुरुवात गरे।

उनको योगदानले नेपालमा आधुनिक शल्यचिकित्साको आधार निर्माण गरेको मानिन्छ। डा विष्टका अनुसार उनी केवल कुशल सर्जन मात्र नभई दूरदर्शी गुरु पनि थिए। डा गोंगलको निधनले नेपाली चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here