अमेरिकी विदेशमन्त्रीकाे नेपाल भ्रमण सम्पन्न

2

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री पल कपुरले आफ्नो नेपाल भ्रमण बुधबार सम्पन्न गरेका छन्।

भ्रमणका क्रममा उनले नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीलाई अझ सुदृढ बनाउने र व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा उच्चस्तरीय छलफल गरेको अमेरिकी दूतावासले जानकारी दिएको छ।

कपुरले आफ्नो भ्रमणका दौरान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा आगामी ‘सेलेक्टयूएसए लगानी सम्मेलन’मा सहभागी हुने नेपाली टोलीसँग कपुरले अमेरिकामा लगानीका अवसरहरूकाबारेमा आफ्ना विचारहरू व्यक्त गरेका थिए। त्यस्तै, उनले नेपालको उदीयमान प्रविधि क्षेत्रमा थप सहकार्यका सम्भावनाहरू पहिल्याउन अमेरिकी र नेपाली निजी क्षेत्रका साझेदारहरूसँग पनि छलफल गरे।

भ्रमणकै क्रममा उनले बौद्धनाथ स्तूप र पाटन दरबार स्क्वायरको अवलोकन गरे। यी क्षेत्रहरूको संरक्षणमा अमेरिकाले ‘सांस्कृतिक संरक्षणका लागि अमेरिकी राजदूत कोष’ मार्फत सहयोग गर्दै आएको छ।

आफ्नो भ्रमणलाई फलदायी बताउँदै कपुरले नेपालको आर्थिक समृद्धि र प्रविधि क्षेत्रको विकासमा अमेरिकाको निरन्तर साथ रहने प्रतिबद्धता जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here