काठमाडौं । नेपाली सेनाका हरिचन्द्र गिरीले चीनको चोङकिङस्थित युन्याङमा सातौं गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भयाे ।
गिरीले गत ४ जनवरी २०२६ मा हातले टेकेर १०० वटा सिंढी जम्मा ४.७१ सेकेन्डमा ओर्लिएका थिए । सबैभन्दा छिटो ओर्लनेमा गिनिज वर्ल्ड रेकर्ड राख्दा धेरैले उनलाई बधाइ समेत दिए ।
गिरीले लन्डनस्थित गिनिज हेड अफिसमा १० सेप्टेम्बर, २०२५ मा यो कीर्तिमान राखेका थिए । सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रका लान्स कर्पोरल गिरीको यो छैटौं गिनिज वर्ल्ड रेकर्ड थियो ।
याेबाहेक उनले ४ वटा फरक–फरक विद्यामा पनि वर्ल्ड रेकर्ड कायम गरिसकेका छन् । उनले सन् २०२१ मा हातले टेकेर भर्याङको ५० खुड्किला १२.६५ सेकेन्डमा पूरा गर्दै पहिलो विश्व रेकर्डको सुरुवात गरेका थिए । त्यस्तै २०२२ मा उनले २ वटा रेकर्ड बनाए । खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर सबैभन्दा छिटो २५.५८ सेकेन्डमा ५० मिटर हिँड्ने कीर्तिमान समेत उनकै नाममा छ ।
गिरीले आफ्नो खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर सबैभन्दा छिटो १० मिटर हिँड्ने नयाँ कीर्तिमान बनाएका थिए जुन उनले ४.४९ सेकेन्डमा पूरा गरेका थिए । त्यसैगरी गिरीले सन् २०२३ मा २५.०३ सेकेन्डमा हातले टेकेर ७५ वटा खुड्किला झरेर चौथो विश्व रेकर्ड कायम गरेका थिए ।
हातले टेकेर ५० खुड्किला १२.६५ सेकेन्डमा झरेको, खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर २५.५८ सेकेन्डमा ५० मिटर पार गरेको, खुट्टाको बीचमा फुटबल च्यापी हातले टेकेर ४.४९ सेकेन्डमा १० मिटर पार गरेको अनि हातले टेकेर ७५ वटा खुड्किला २५.०३ सेकेन्डमा झरेको रेकर्ड पनि उनको नाममा छ ।
गिरीले गत वर्ष द ब्रिटेन्स् गट ट्यालेन्टमा अडिसन समेत दिएका थिए । हरिचन्द्रले तीन मिनेटभित्र वैशाखीलाई ब्यालेन्समा राखेर आँखा नहेरी उल्टोबाट भर्याङको सिँढी ओर्लने, चढ्ने कला देखाएका थिए । त्यसमा खुकुरी ‘प्याट्रन’ पनि समावेश थियो । उक्त अडिसनमा सफल नभएपनि गिरी यस वर्ष फेरि द ब्रिटेन्स् गट ट्यालेन्टमा अडिसन दिन जाने तयारी गरिरहेका छन् ।
१३ वर्षअघि नेपाली सैनिकमा प्रवेश गरेका दाङका ३२ वर्षीय गिरीले अहिलेसम्म सातवटा गिनिज वर्ल्ड रेकर्ड राखेपनि आफू सबैतिरबाट उपेक्षित भएको गुनासो गरे ।
‘मैले जति कला कौशल प्रस्तुत गरें, सबै आफ्नै पहल, मेहनत र खर्चमा हो’, गिरीले सुनाए, ‘मैले जहाँ गएपनि नेपाल र नेपालीलाई नै प्रतिनिधित्व गरेको छु । तर, सरकारका पनि आफ्नै प्राथमिकता भएर होला खोइ अहिलेसम्म केही सहयोग पाइन ।’ उनले आर्थिक सहयोग पाए द ब्रिटेन्स् गट ट्यालेन्टमा अडिसनका लागि जान सक्ने जनाउँदै सहयोगको अपिल गरेका छन् ।


















