अपराधीको जस्तो व्यवहार नगर्न सरकारसँग आग्रह

0

काठमाडौं । नेकपा नेता वर्षमान पुनले उद्योगी–व्यवसायीमाथि अपराधीको जस्तो व्यवहार नगर्न सरकारसँग आग्रह गरेका छन् ।

१७३औं विश्व मजदुर दिवसका सन्दर्भमा पार्टी सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियनले आइतबार राजधानीमा गरेको कार्यक्रममा पुनले उद्योगी–व्यवसायीमाथि अपराधीको जस्तो व्यवहार नगर्न आग्रह गरेका हुन्।

रास्वपाको नेतृत्वमा सरकार बनेपछि प्रतिष्ठित भनिएका उद्योगी व्यवसायी विभिन्न अभियोगमा पक्राउ पर्ने गरेका छन्। त्यसप्रति असहमति राख्दै पुनले करदाता र रोजगार दाताका रुमपा रहेका उद्योगी व्यवसायीमाथि अनावश्यक सास्ती दिन खोजिएको आरोप लगाए।

उद्योगीले गल्ती गरेको भए ‘पहिला सुन्ने अनि थुन्ने’ काम गर्न उनको सरकारलाई आग्रह थियो ।

स्टण्टका लागि व्यवसायी पक्रने र प्रमाण नपुगेपछि छुट्ने कुराले सरकार हल्का हुने तथा दोषीले उन्मुक्ति पाउने खतरा रहेको उनको दाबी छ। ‘पहिला ‘स्टण्ट’ का लागि पक्राउ गरिहाल्ने, केही भेटिंदैन अनि छाड्ने जस्तो भएको छ’, उनले भने ।

पुराना दललाई हराउन भन्दै चुनावमा नयाँलाई चन्दा सहयोग दिनेहरुले धरपडकपछि मात्र कुरा बुझ्न थालेको पुनले बताए ।

‘हामीले धेरै पहिलादेखि नै भन्दै आएका हौं कि उद्योगी व्यवसायीका कुरा पहिला सुनौं, तथ्यमा पुगौं अनि मात्र थुनौं । रोजगारदातालाई अपराधीको जस्तो व्यवहार नगरौं’, पुनले भने, ‘पुराना पार्टीहरु बिग्रिए भनेर उद्योगी व्यवसायी साथीहरु नयाँहरुका लागि बोरामै चन्दा बोकेर हिंडेको हामीले देखेकै हौं । नयाँतिर लाग्नुपर्छ भनेर आफ्नै छोरा÷श्रीमतीलाई समानुपातिकमा सूचीमा राखेका हुन् साथीहरुले । अब बल्ल उहाँहरुलाई ‘रिकल’ हुन थालेको छ ।’

उद्योगी व्यवसायीले नाफाका लागि काम गर्ने भए पनि रोजगार दाता पनि भएकाले उनीहरुमाथि अनावश्यक धरपडक हुँदा लगानीको वातावरण संकुचित हुने तर्क पुनले गरे ।
यस्तै विगतमा शासन सत्ता सञ्चालनका क्रममा कोही नेताले गल्ती गरेको भए उसले सजाय भोग्नुपर्नेमा आफूहरु स्पष्ट रहेको भन्दै उनले व्यक्तिगत प्रतिष्ठा ड्यामेज गर्ने उद्देश्यले प्रधिशोधी व्यवहार कसैमाथि पनि गर्न नहुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here