नाई मलाई त्यही पार्टी चाहिन्छ

12

-खडग पाण्डे

मान्छे प्रेममा पर्छ। भनिन्छ- प्रेममा सबै कुरा जायज हुन्छ र प्रेमलाई कुनै बन्धनले पनि रोक्न सक्दैन। प्रेमको व्यापक र दार्शनिक परिभाषा अनुसार, “तिमी जे छौ वा जे छैनौ त्यसलाई जस्ताको तस्तै स्वीकार गर्नु नै प्रेम हो।” प्रेम मूलतः एउटा भावनात्मक सम्बन्ध हो जहाँ तर्क (logic) भन्दा भावना (feeling) बढी शक्तिशाली हुन्छ। त्यहाँ निर्णयहरू दिमागले होइन मनले गर्छ, मुडले गर्छ। यो अवस्थामा तथ्य (fact) भन्दा बढी आफ्नो सोचअनुसारको व्याख्या (interpretation) सक्रिय हुन्छ। कुनै घटनालाई मानिसले आफ्नो भावना अनुसार अर्थ लगाउँछ। परिस्थिति बुझ्नुभन्दा अनुभव गर्नतर्फ ध्यान बढी जान्छ। परिणामस्वरूप सम्बन्धमा प्रायः अत्यधिक सोचमैत्री (overthinking-friendly) मनोभाव सक्रिय देखिन्छ। आफ्नो सोचबाहेक अरू सोच्नै सक्दैन।

प्रेम सम्बन्धको कुरा गर्दा हामी प्रायः रोमियो–जुलियट वा ‘मुना–मदन’ जस्ता प्रेमकथाहरू सम्झन्छौं। तर आधुनिक समाजमा हेर्दा यस्ता साहित्यिक प्रेमभन्दा पनि अझ गहिरो र जटिल राजनीतिक दलप्रतिको प्रेम स्पष्ट रूपमा देख्न सकिन्छ। यस्तो सम्बन्धमा सम्बन्ध टुट्न (breakup) नदिन निरन्तर विभिन्न प्रकारका स्पष्टीकरण (justifications) थपिँदै जान्छन्।

मान्छे सामाजिक प्राणी भएकाले ऊ गाउँ, समाज र देशको राजनीतिबाट पूर्ण रूपमा अलग रहन सक्दैन। एकपटक दलगत राजनीतिक “प्रेमजाल” मा फसेपछि धेरैजसो अवस्थामा ऊ त्यसबाट सजिलै बाहिर निस्कन सक्दैन वा निस्कन चाहँदैन। राजनीतिक दलसँगको प्रेमको सुरुवात प्रायः निकै सरल हुन्छ। कसैले नारा मन पराउँछ, कसैले नेता र कसैले “परिवर्तन” को सपना देखेर दलसँग आवद्ध हुन्छ। कतिपय अवस्थामा आफूले मन नपराएको व्यक्ति वा आफ्नो विरोधीलाई ठिक पार्न पनि अर्को दलसँग ‘प्रेम’ गरिन्छ। दल छनोटमा स्वार्थको राजनीति, पारिवारिक तथा सामाजिक परिवेश, विचारधारा र दर्शनको ज्ञानले पनि प्रभाव पार्ने गर्दछ।

यो दलले देश बदल्छ” भन्ने विश्वासले बिस्तारै हृदयमा घर बनाउँछ। समयसँगै त्यो विश्वास केवल विचारमा सीमित रहँदैन बरु मानिसको पहिचान (identity) मा रूपान्तरण हुन्छ। ऊ आफूलाई दलभन्दा अलग सोच्न सक्दैन। यसले समूहको हिस्सा भएको अनुभूति दिन्छ, आफ्नो आवाज सुन्ने ठाउँ दिन्छ, अनि कहिलेकाहीँ जीवनलाई उद्देश्य दिएको भान पनि दिन्छ। अन्ततः दलप्रेम कुनै साधारण कुरा होइन। यो विचार, भावना, पहिचान र स्वार्थको मिश्रण हो—अलि माया, अलि मोह र अलि “म गलत हुनै सक्दिन” भन्ने अडान।

यस्तो गहिरो राजनीतिक आकर्षणको अवस्थामा मान्छेले निर्णय तथ्य (facts) का आधारमा होइन पक्षीय भावना (bias) का आधारमा गर्न थाल्छ। आफूले समर्थन गरेको दलप्रति सकारात्मक व्याख्या बढ्दै जान्छ भने विपक्षीप्रति आलोचनात्मक दृष्टिकोण स्वतः विकसित हुन्छ। चलनचल्तीको भाषामा यसलाई “झोले” भन्ने गरिएको छ। झोलाभित्र के छ भन्दा पनि त्यो झोला कसको हो भन्ने आधारमा बोक्ने प्रवृत्ति।

यो एक प्रकारको राजनीतिक जिद्दीपन हो। राजनीतिमा यही जिद्दीपनलाई “दृढता” र “अडान” जस्ता आकर्षक शब्दहरूले लेपन गरिन्छ। वास्तवमा आफू “अड्किएको” अवस्थालाई पनि मानिसले “अडिग” भएको रूपमा महसुस गर्न थाल्छ। बिस्तारै दर्शन “आस्था”मा रूपान्तरण हुन्छ र त्यसमा प्रश्न उठाउनु नै अपराध जस्तो ठहरिन थाल्छ।

जब मान्छेले “म किन सही छु?” भन्दा बढी “म गलत हुनै सक्दैन” भन्ने निष्कर्ष निकाल्छ त्यहीँबाट जिद्दीको वास्तविक सुरुवात हुन्छ।  राजनीतिमा त झन् जिद्दी गर्ने मान्छे आफूलाई सबैभन्दा तार्किक ठान्छ। ऊ सोच्छ- “म त अडिग छु, अरू नै अस्थिर छन्।” तर वास्तविकता के हो भने ऊ स्थिर होइन अड्किएको हुन्छ। जिद्दी कहिलेकाहीँ बाटो नछोड्ने साहस होइन बरु बाटो नदेख्ने समस्या पनि हुन सक्छ।

जब राजनीति आस्थामा रूपान्तरण हुन्छ त्यहाँ तर्कको मापदण्ड बिस्तारै हराउन थाल्छ। यस्तो अवस्थामा दलप्रेमको सबैभन्दा शक्तिशाली आधार बन्छ भावनात्मक लगानी (emotional investment)। मान्छेले वर्षौंसम्म कुनै दललाई समर्थन गरिसकेपछि उसले आफ्नो समय, ऊर्जा र प्रतिष्ठा त्यहीँ लगानी गरिसकेको हुन्छ। अब आफ्नो धारणा बदल्नु भनेको आफ्नै अतीतसँग असहमत हुनु जस्तै लाग्छ।

म स्वयं कुनै दलसँग आवद्ध छु। मलाई थाहा छ म आवद्ध दलको नीति, नेतृत्व र चरित्रले अब निकास दिन सक्दैन। तर पनि मैले त्यो दलसँग सम्बन्ध विच्छेद गर्न सकेको छैन। कारण कतै एक्लो पो हुन्छु कि भन्ने लघुताभास (inferiority feeling) वा डर।

हामी यस्तो संस्कृतिबाट दीक्षित भएका मानिस हौं जहाँ खोला, खोल्सा वा गल्लीबाट ढुङ्गा ल्याइन्छ, त्यसलाई धोई-पखाली गरिन्छ, गोबरले टाउको बनाएर देवत्वको रूप दिइन्छ र अन्ततः त्यसैलाई पूजा गर्दै आफूलाई समर्पित गरिन्छ। त्यसरी नै मान्छेले दलका नेतालाई देवत्वकरण गर्छ। नेता केवल नेता मात्र हुँदैन, उनीहरूलाई दर्शन, विचार र तर्कभन्दा माथि उठाएर आस्थामा परिणत गरिन्छ। नेता जे बोल्छन् त्यो विचार हुन्छ। नेता जे गर्छन् त्यो रणनीति हुन्छ। मानिसको सोच, विश्वास वा धारणा बारम्बार प्रभाव, दबाब, डर वा प्रचारद्वारा परिवर्तन गरिन्छ। स्वतन्त्र सोच कमजोर बनाइ उसलाई आफूले चाहेको तरिकाले सोच्न बाध्य पारिन्छ। सायद त्यो नै “ब्रेनवाश” हो।

कुनै पनि राजनीतिक दल दर्शन, सिद्धान्त र विचारलाई अंगिकार गरेर गठन हुन्छ। त्यसको देखिने अनुहार भनेको नीति, नेतृत्व र कार्यक्रम नै हुन्। राजनीतिमा वर्गीय पक्षधरता र कल्याणकारी राज्यको अवधारणा महत्वपूर्ण मानिन्छ। तर विडम्बना के छ भने नेपालमा शुद्धता मात्र होइन गुणसँगै गोबर पनि मिसिएको देखिन्छ। यही कारणले गर्दा स्वच्छ र आलोचनात्मक चेत भएका मानिसले आफू आवद्ध दलको नाम लिन समेत कहिलेकाहीँ हीनताबोध महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

मान्छेले आफ्नो विगतको लगानीमा गर्व गर्नुपर्छ। आफ्नो चेतनालाई आलोचनात्मक बनाउनु आवश्यक छ। तर दलाल, भ्रष्टाचारी र बिचौलियाको स्वार्थ बोकेको झोलामा के छ भन्ने नहेरी त्यसलाई बोकिरहनु उचित होइन। आफू आवद्ध दलले गरेको काम मात्र ठीक र अरूले गरेको सबै काम बेठिक भन्ने संकीर्ण सोच त्याग्नुपर्छ।

जनहित र लोककल्याणका लागि हुने काम जसले गरे पनि त्यसमा साथ र समर्थन दिन सक्ने उदारता आवश्यक छ। हिजो तल्लो स्तरका गतिविधिमा प्रतिस्पर्धा गर्दा मौन बस्ने तर आज सकारात्मक काम हुँदा अनावश्यक रोइँलो गर्नु विरोधाभासपूर्ण व्यवहार हो। टोलका गुण्डागर्दी नियन्त्रणदेखि भ्रष्टाचारका फाइल खोल्नेसम्मका प्रयासमा खोट मात्र खोज्नु झोलेपनहो। आफ्नो बाको जुँगा हुँदा राम्रो, अर्काको बाको जुँगा लामो हुँदा मुसाको पुच्छर जस्तो देख्ने हाम्रो बानी पुरानै हो। आफ्नो बाको कपाल सेतो हुँदा परिपक्वताको प्रमाण ठानिन्छ तर अरूको बुढ्यौली भने कमजोरीको संकेत बनाइन्छ। आफ्नो बाको भुँडी ठूलो हुँदा खान्दानी ठहरिन्छ तर अर्काको बाको पेट ‘घ्याम्पो’ भनेर उडाइन्छ।

सत्य त के हो भने बा सबैका असल, राम्रा र बुद्धिमान नै हुन्छन्। फरक केवल हाम्रो दृष्टिकोणमा छ। हामीले बनाएका ‘असल’, ‘राम्रा’ र ‘बुद्धिमान’ का मापदण्ड आफ्ना बा–आमामा मात्र लागू गर्ने होइन सबैका लागि समान हुनुपर्छ। ठीक र गलतलाई आफ्नो-पराईको हिसाबले छुट्याउने दृष्टिकोणले अन्ततः हामीलाई सही निष्कर्षमा होइन भ्रममा पुर्‍याउँछ। यस्तो सोचले न्याय होइन पक्षपात जन्माउँछ; सत्य होइन, आग्रह पुर्वाग्रह बलियो बनाउँछ। अन्ततः यो सबैले पुर्‍याउने ठाउँ एउटै हो-खतमहरूबीचको प्रतिस्पर्धा जहाँ कसले कम बिगार्‍यो भन्ने होड चलिरहन्छ तर कसले राम्रो गर्‍यो भन्ने प्रश्न भने सधैं छायामा पर्छ।

पात्र र प्रक्रियामा मात्र अल्झिएर परिणामलाई बेवास्ता गर्नु भनेको “मलाई त्यही केटी चाहिन्छ” भन्ने जिद्दी सोचजस्तै हो। आफ्नो विवेकको बिर्को लगाउनु भनेको आफ्नै खेतबारी बाँझो राखेर अर्काको घरमा हली बन्नुजस्तै हो। आफ्नो सोच्ने, बुझ्ने र निर्णय गर्ने क्षमता अरूको हातमा सुम्पिनु हो। जब मानिसले आफ्नो विवेक प्रयोग गर्न छोड्छ ऊ आफ्नै सम्भावना र क्षमतालाई बेवास्ता गर्दै अरूको स्वार्थका लागि मात्र काम गर्ने अवस्थामा पुग्छ। प्रश्न गरौ। सकरात्मक आलोचना गरौ। जो जसले गरेको भएपनी ठिकलाई ठीक र गलतलाई गलत भनौ।

 

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here