तिहारमा साढे ४ सय जुवाडे पक्राउ

217

काठमाडौं, कात्तिक १४ । नेपाल प्रहरीले तिहार अवधिभर देशभर सञ्चालन गरेको विशेष सुरक्षा कारबाहीको क्रममा ४ सय ६५ जना जुवाडे पक्राउ परेका छन् । नेपाल प्रहरीका डीआइजी एवम् केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलका अनुसार देशका ४३ स्थानमा छापा मार्दा उक्त संख्यामा जुवाडे पक्राउ परेका हुन् । सोमध्ये तीन जना महिला जुवाडे समेत रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भीआईपीदेखि सामान्य जुवाडेसम्म रहेको र उनीहरुको साथबाट ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको पोखरेलले जानकारी दिए । सो क्रममा प्रहरीले काठमाडौंको महाराजगञ्जमा छापा मार्दा २५ जना भीआईपी जुवाडे पक्राउ गर्नुका साथे साढे २ करोडभन्दा बढी रकम बरामद गरेको थियो ।

पक्राउ परेका व्यक्तिहरुबाट बरामद रकमको स्रोततर्फ समेत प्रहरीको ध्यान केन्द्रित भएको र आवश्यक परे सम्पत्ति शुद्धीकरण मार्फत पनि अनुसन्धान हुने प्रहरी मुख्यालयले जानकारी दिएको छ । विभिन्न जिल्लाका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले सो सुरक्षा कारबाही अपरेशन चलाएका थिए ।

उनीहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइएको छ भने केहीलाई भने सामान्य धरौटीमा कागज गराउँदै प्रहरीले छाडेको छ । अभियोग प्रमाणित भए पहिलो पटक खेल्ने वा खेलाउनलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना, दोस्रो पटक खेल्ने वा खेलाउनलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना तथा र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here