एनपिएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय पक्राउ

2

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको राजस्थान राज्यको श्रीगङ्गानगर जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका–१७, ठमेलमा बस्दै आएका ३५ वर्षीय रोहित पथरिया रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी एनपिएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पथरियासँग रहेका दुई थान मोबाइल फोन जाँच गर्दा उनले अनलाइन ‘बेटिङ साइट’मार्फत क्रिकेट खेलमा पटक–पटक सट्टेबाजी गरेको पाइएको जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पथरियाले बेटिङ साइट प्रयोग गरी एनपिएलका खेलमा पटक–पटक गरी रु आठ लाख ७५ हजार ४० बराबरको कारोबार गरेको खुलेको छ ।

पक्राउ परेका पथरियालाई मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here