काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सुरू भएको दुई दिन बितिसक्दा सरकारले बल्ल अव्यवस्थित बस्ती हटाइएका कारण प्रभावित विद्यार्थीहरूका लागि सहयोग उपलब्ध गराउने सूचना जारी गरेको छ।
कक्षा १२ को परीक्षा सोमबारदेखि देशभर सुरू भइसकेको छ। यस्तोमा सुकुम्वासी बस्तीका विद्यार्थीलाई सहयोग गर्ने भन्दै सरकारले मंगलबार सूचना निकालेको हो।
कुनै तयारी र योजनाबिना सुकुम्बासी बस्ती हटाएर विद्यार्थी र बालबालिकाको विचल्ली पार्दा आलोचित भइरहेको सरकारले मंगलबार सूचना निकालेको हो।
गत शनिबारदेखि नै सुकुम्वासी बस्तीमा डोजर चलाइँदा कक्षा १२ को परीक्षा दिन तयार थुप्रै विद्यार्थीको विचल्ली भएको थियो। सरकारले बस्तीमा डोजर चलाएर ढालेको चार दिनपछि विद्यार्थीका लागि सहयोगको सूचना निकालेको हो।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२), सानोठिमी, भक्तपुरले मंगलबार एक सूचना जारी गर्दै बस्ती हटाइएका कारण विस्थापित भई परीक्षा दिइरहेका विद्यार्थीलाई आवश्यक सहयोग गर्ने जनाएको हो।
सूचनामा अव्यवस्थित बस्ती खाली गराइएका स्थानबाट विस्थापित विद्यार्थीहरूलाई सहयोग, समन्वय तथा सहजीकरण गर्न विशेष फाराम तयार गरिएको उल्लेख छ।



















