-लोकनारायण सुबेदी
बिश्व कम्युनिष्ट घोषणा पछि ‘दास क्यापिटल’ अर्थात ‘पूँजी’ जस्तो सुप्रसिद्ध र बिश्वलाई नै नयाँ मोड दिने अनि नयाँ दिशाबोध गराउने महान ग्रन्थका लागि अध्ययन सामाग्री जुटाइरहेका, अध्ययन गरिरहेका र लेखिरहेका बेला कार्ल माक्र्स गहन र गम्भीर महत्वका सैद्धान्तिक खोज अध्ययनमा लागेका त थिए नै । तर यसरी अत्यन्तै महत्वपूर्ण सैद्धान्तिक अध्ययनमा समर्पित रहेका बेलामा पनि कार्ल माक्र्सले कोरा सैद्धाान्तिक अध्ययन मात्रै गरिरहेका थिएनन्, तत्कालीन राजनीतिक घटना क्रमसँग आफ्नो सम्पर्क सुत्रलाई पनि निरन्तर कायम राखेका थिए र त्यसलाई एक क्षण पनि पटक्कै टुट्न दिएका थिएनन् । उनले एक सक्रिय प्रचारकर्ताका रुपमा आर्थिक बिकास र यूरोप तथा अमेरिकी देशहरुमा त्यहाँका शासक बर्गका नीतिहरुको अध्ययन पूरा सतर्कताकासाथ गर्दै रहेका थिए । ती देशहरुमा चलिरहेका जनवादी तथा सर्बहाराबादी आन्दोलनहरुका सानाभन्दा साना उपलब्धीहरुमाथि पनि सुक्ष्मतम् दृष्टिले गौर गरेर हेर्ने कुरामा माक्र्स कहिल्यै चुकेका थिएनन् ।
सन् १८५० को दशकमा चार्टिस्ट आन्दोलनको बाम पक्षले मजदुर बर्गका बीच प्रचार कार्यको दिशामा केही सशक्त कदम उठायो । त्यस क्रममा केही चार्टिस्ट नेताहरु र आम कार्यकर्ताहरुका बिचारधारात्मक धारणाका बारेमा माक्र्स बिचारहरु लगातार गहिरो हुँदै गएको छाप प्रष्टसँग उनमा देख्न सकिन्छ । १८५० मा चार्टिस्ट पत्र – रेड रिपब्लिकन – मा पहिलो पटक माक्र्सको कार्यक्रम, दस्ताबेज, कम्युनिष्ट पार्टीको घोषणापत्र(अग्रेजीमा अनुबाद) प्रकाशित गरियो । चार्टिष्ट प्रेसका कतिपय लेखहरुमा खाशगरी ती लेखहरुमा जसमा बालिग मताधिकारद्वारा राजनीतिक शक्ति हासिल गर्नका लागि मानिसहरुलाई अपिल गरिएको थियो, त्यसमा घोषणापत्रका बिचारहरुलाई अभिब्यक्ति दिइएको थियो ।
कार्ल माक्र्सले – द पिपुल्स पेपर – साप्ताहिक निकाल्नमा – चार्टिस्ट – नेता अर्नेस्ट जोन्सलाई मद्दत गरे । त्यस पत्रिकाको पहिलो अंक १८५२ मा निस्कियो । त्यसमा माक्र्र्सका १७ वटा लेखहरु प्रकाशित भए । जोन्सको अनुरोधमा माक्र्सले प्रायः पत्रिकाको सम्पादनमा रुची लिए र त्यसलाई उनले एउटा क्रान्तिकारी साप्ताहिकको रुप दिन मद्दत गरेका थिए ।
चार्टिस्ट नेताहरुले १८५४ मा मजदुर ट्रेड यूनियनहरु र क्बलहरुका प्रतिनिधिहरुको काग्रेस म्याञ्चेस्टरमा आयोजना गरे। उनीहरुको उदेश्य एउटा ‘जन आन्दोलन’ नामले चार्टिस्ट संगठन निर्माण गर्ने थियो । माक्र्स म्याञ्चेस्टर गएर त्यसमा भाग त लिन पाएनन् तर उनले काग्रेसका लागि एउटा पत्र लेखे र त्यसमा सर्बहारा पार्टी गठन गरेर मजदुर बर्गलाइ राष्ट्रियरुपमा एक जुट तुल्याउन पर्ने आवश्यकतामाथि जोड दिए ।
अनि १८५५ को गर्मीका समयको आइतबारका दिन ब्यापार बन्द गर्ने सरकारको निर्णयका बिरुद्ध श्रमजीवी जनताले लण्डनका सडकहरुमा बिशाल प्रदर्शन गरे । उनीहरुको माग थियो कि आमरुपमा मजदुरहरुकलाई उनीहरुको साप्ताहिक मजदुरी शनिबारका दिन दिने गरिन्छ र उनीहरुका श्रीमतीहरु आइतबारका दिन बजारमा किनमेल गर्न सक्दछन् । त्यसैले यस दिन बजार(दोकानहरु) खुल्नु पर्दछ । त्यो ठूलो प्रदर्शनमा कार्ल माक्र्स स्वयं र बिल्हेम लिब्नेख्ट पनि सहाभागी थिए । अनि जब पुलिसले प्रदर्शनकारहिरुमाथि हमला गर्यो त्यो बेला ती दुबै ब्यक्ति पक्राउ पर्नबाट धन्न धन्न जोगिएका थिए ।
त्यतिबेला बृटिश मजदुरहरुका हडताल, आन्दोलन र जनकारबाहीहरुले साबित गरेका थिए कि मजदुर बर्गमा अपार सम्भावना निहीत रहेको छ । प्रश्न के थियो भने के ती सम्भावनाहरुलाई मूर्त रुप दिन सकिन्छ ? प्रश्न अर्को के पनि थियो भने आउदा केही बर्षमा के सर्बहारा बर्ग न केवल ‘आफुमा आफै एउटा बर्ग’ मात्र होइन कि ‘आफ्नै लागि एउटा बर्ग’ बन्न सक्ला ? यो कम महत्वपूर्ण कम गम्भीर प्रश्न थिएन । यस अध्ययनको क्रममा त्यतबेला इंगल्याण्डको आर्थिक तथा राजनीतिक परिस्थितिको बिश्लेषणबाट माक्र्स कुन निष्कर्शसम्म पुगेका थिए भने यदि बृटिश मजदुर बर्ग सुसंठित भयो र आफ्नो जागरुपता बढायो अनि आफ्ना भाबनालाई बढी क्रान्तिकारी बनायो भने सम्भबतः इंल्याण्डको बिकासले क्रान्तिकारी परिवर्तनको मूलबाटो पक्रिन सक्तछ तर १८५० को दशकको अन्तिम बर्षहरुमा यो स्पष्ट भयो कि चार्टिस्ट आन्दोलनले राजनीतिक मोर्चा नै त्यागिदियो ।
१८५० का बेला ट्रेड यूनियनको बिकास तीब्र गतिमा भइरहेको थियो । भबन निर्माण, इञ्जिनियरिङ्ग, सूती कपडा उद्योग र अन्य उद्योगहरुमा मजदुरहरुले ट्रेड यूनियन बनाए र पूँजीको हमलाका बिरुद्ध श्रमिक शक्तिलाई एकजुट पार्ने कोशिश गरिरहेका थिए । तर ट्रेड यूनिनय नेतृत्वले आफ्नो सारा ध्यान केवल आर्थिक मागहरुमाथि मात्र केन्द्रित गर्यो । मजदुर आन्दोलनमा ट्रेड यूनियनबाद यसरी लगातार हावी हुदै जान थाल्यो । बृटेन बिश्वको सबैभन्दा ठूलो औद्योगिक र औपनिवेशिक शक्तिकारुपमा उदाउनाले यस प्रकृयालाई अझ बल मिल्यो र मजदुर बर्गका बीच एउटा यस्तो अभिजात्य तप्का हुर्किएर देखापर्यो जसलाई बृटिश पूजीपति बर्गले आडधाप दिन्थ्यो र मजदुर बर्गमाथि आफ्नो प्रभाव कायम राख्ने औजारकारुपमा तिनको उपयोग गर्ने गर्दथ्यो ।
सन् १८५० को दशकको अन्तिम र १८६० को दशकका आरम्भिक बर्षहरुमा यूरोप र अमेरिकामा १८५७÷५८ को आर्थिक संकटपछि क्रान्तिकारी आन्दोलनमा फेरि उभार आयो । आर्थिक संकटको आरम्भ अमेरिकामा भयो र त्यसले चाँडै नै यूरोपलाई पनि ग्रस्त बनायो । अन्ततः त्यसले पूँजीवादी इतिहासमा पहिलो पटक एउटा बिश्वब्यापी संकटको रुप लियो ।अमेरिकाको यो संकटको समाचार पाउने बित्तिकै माक्र्सले एंगेल्सलाई लेखेका थिए – ‘‘अमेरिकाको यो संकट बहुत ठूलो र अन्त्य नहुने किसिमको छ । सन्देह के छ भने ठूलो संख्यामा निर्यात फर्महरु कंगाल हुन जानेछन्, अहिलेसम्म त केही फर्महरु मात्रै यस्तो स्थितिमा पुगेका छन् । इंगल्याण्डमा यसको यत्तिका प्रभाव पर्यो कि लिभरपुलको सिटी बैंकसम्म यसबाट प्रभावित भएकोछ ।’’
त्यस संकटको फलस्वरुप उत्पादनमा जबर्जस्त कमी आयो । सम्पूर्ण पूँजीवादी अर्थब्यवस्थाका जोर्नीहरु हल्लिए । हजारौं फर्महरु कंगाल बन्न पुगे । बैंक अफ इंगल्याण्डले नोट छाप्ने काम ग¥यो तर त्यसको मूल्य बराबरको सुन सुरक्षित कोषमा राखेन । मजदुर बर्गमाथि त झन भयंकर संकटको पहाडै फुट्न गयो । इंगल्याण्डमा लभगभ ६० प्रतिशत औद्योगिक मजदुर पूर्णतः या आंशिकरुपमा बेरोजगार हुन गए । माक्र्सका गोजीमा पनि यो संकटको सोझो असर प¥यो । ‘न्यू योर्क डेली ट्रिब्यून’ मा प्रकाशित लेखहरुबाट हुने गरेको सानो आमदानी पनि आधा मात्र रहन गयो । घरका सबै कुराहरु एक पटक पुनः बन्धक राख्ने दोकानमा पुग्न गए ।
यसरी आर्थिक संकटसँग सम्बद्ध आफ्ना लेखहरुमा माक्र्सले बताए कि पूँजीवादी अर्थशास्त्रीहरुद्वारा त्यसमाथि काबु पाउन गरिएका प्रयत्नहरु असफल हुनेछन् । उनले घोषणा नै गरे कि जबसम्म पूँजीवादी प्रणाली रहनेछ त्यसबेलासम्म आर्थिक संकट पनि कायम रहनेछ ।बिश्व आर्थिक संकटले यूरोपेली तथा अमेरिकी देशहरुको राजनीतिक क्षेत्रहरुमा परिबर्तनकै गति तीब्र तुल्याइदियो । १८५० को दशकको अन्त्यमा रुसमा क्रान्तिकारी स्थिति पैदा भइसकेको थियो, १८६१—६५ का बेला काला मनिसहरुको दासतालाई लिएर अमेरिकामा जबर्जस्त गृहयुद्ध भयो, इटालीमा सशस्त्र क्रान्तिकारी उभार आएको थियो र १८६२–६४ मा पोल्याण्डमा अस्ट्रियाई शासनका बिरुद्ध बिद्रोहको भावना भड्एिको थियो । माक्र्सले मजदुर बर्गको राजनीतिक गतिबिधिको बिकासको अध्ययन त्यतिबेला गहनतम् र गहिराईपूर्वक गरे । उनले जनबादी तथा सर्बहारा आन्दोलनको बिकासको अध्ययन गरे, यस बिषयमा कयौं लेखहरु लेखे र बिभिन्न देशहरुका क्रान्तिकारीका बीच दृढ सम्पर्क सुत्र स्थापित गर्न जोडतोडले लाग्ने कोशिश गरे ।
माक्र्स यो कुरा बताउने पहिलो ब्यक्ति भएका थिए कि अमेरिकी गृह युद्ध प्रथमतः र अनिबार्यतः दुइ समाज प्रणालीको युद्ध हो । अमेरिकामा काला मानिसहरुको दासताको समाप्तिको स्थितिमा माक्र्स र एंगेल्सले त्यसबाट देशको इतिहासमा एउटा नयाँ मोड आइरहेको अनुभूत गरिरहेका थिए, जसको असर सारा संसारको इतिहासमा पर्नेवाला थियो ।
रुसको अध्ययन गर्दै त्यतिबेला माक्र्सले त्यहाको किसान आन्दोलनको बिकास र १८५० को दशकको अन्त्यको रुपमा परिपक्क हुँदै गएको क्रान्तिकारी अबस्थामा बिशेषरुपले ध्यान दिएका थिए ।उनले रुसमा तीब्ररुपमा औद्योगिक बिकासको आवश्यकतामाथि जोड दिएका थिए, किनभने आर्थिक दृष्टिले रुस पश्चिमा देशहरुको तुलनामा धेरै नै पिछडिएको थियो ।
अनि १८६३ को आरम्भमा रुसको पोल्याण्ड खण्डमा जातिय मुक्ति संघर्ष शुरु भएको थियो । त्यससँगको जनबादी तथा मुक्ति आन्दोनलहरुको मोर्चा ब्यापक हुन गयो । एंगेल्सलाई लेखेको एउटा पत्रमा माक्र्सले गौर गरेर के लेखेका थिए भने पोल्याण्ड बिद्रोह यूरोपमा क्रान्तिकारी उभारका बीच शुरु भएको थियो । परिस्थिति त्यसको अनुकूल छ । ‘‘आशा छ कि यस पटक लाभा पूर्वबाट पश्चिम तिर बग्नेछ’’ माक्र्सले पत्रमा लेखेका थिए । माक्र्सको रायमा बिद्रोहको सफलता आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै नै परिस्थितिमाथि निर्भर थियो अर्थात् आन्तरिरुपले यो यस कुरामा निर्भर थियो कि के ब्यापक किसान समुदायलाई यस आन्दोलनमा सामेल गर्न सकिने छ्र र अन्तर्राष्ट्रिय स्तरमा यसको निर्भरता रुसमा क्रान्तिको सम्भावनामाथि थियो तर चाँडै नै बिद्रोहको नेतृत्व ठूला जमिनदारहरु र उच्च स्तरका पूँजीपतिहरुको त्यस पार्टीले आफ्नो हातमा लियो जो किसान जनतासँग डराउँदथे र इंगल्याण्ड र फ्रान्सबाट मद्दतको अपेक्षा गर्ने गर्दथे जस्तो कि माक्र्सले बताएका छन्, बिद्रोहीको मद्दत न त फ्रान्समा नेपोलियन तृतीयको सरकारले गर्यो न इंगल्याण्डमा पामर्सडन सरकारले । धेरैभन्दा धेरै उनले कूटनीतिक तिकडमहरुको सहारा लिदै रहे ।
पोलिश बिद्रोहको समर्थनमा माक्र्स जे गर्न सक्तथे त्यो उनले अबश्य पनि गरे। समाचारपत्रहरुको माध्यमबाट उनले जार र प्रशाका सरकारहरुद्वारा पोलिश बिद्रोह बिरुद्धको षडयन्त्रको पर्दाफास गरे र पोलिस बिद्रोहीहरुको सहायता गरेकोमा फ्रान्स तथा बृटिश सरकारहरुले उनको निन्दा गरे । बिद्रोहले जुन रुप धारण गर्यो र जारको फौजले जुन दारुणताकासाथ बिद्रोहीहरुलाई कुल्चियो त्यसबाट माक्र्सको यो निष्कर्ष सही साबित भयो कि पुलिस जनताको मुक्ति संघर्ष पश्चिमा देशहरुको सरकारहरुको सहयोगमा होइन, बरु रुस भित्र क्रान्तिकारी आन्दोलनसँको सहयोगमा निर्भर थियो र यसका साथै यस कुरामा पनि निर्भर थियो कि पोलिश जनताले आफ्नो मुक्ति संघर्षलाई क्रान्तिकारी किसिमले चलाउन सक्छन् कि सक्तैनन् अनि किसान बर्गको हितमा क्रान्तिकारी परिवर्तनसँग आफ्नो संघर्षलाई जोड्न सक्छन् कि सक्तैनन् ।
पोलिस बिद्रोहको स्मृतिमा माक्र्सकी ठूली छोरी जेनीले क्रस पहिरिइन् । पछिबाट उनले क्रसलाई हरियो फितामा उनेर पहिरिएकी थिइन् । हरियो रंग आयरल्याण्डको पारम्परिक रंग हो । त्यो पहिरिएर जेनी आयरिस मुक्ति संघर्षप्रति आफ्नो समर्थन यसरी जाहेर गर्न चाहन्थिन् ।
अनि १८५९ का आरम्भिक दिनहरुमा इटली महान क्रान्तिकारी घटनाहरुको संघारमा थियो ः देश बिभक्त थियो जसले गर्दा बिकास अबरुद्ध थियो, उत्तरी भागमा अस्ट्रियाको अधिकारलाई लिएर इटलीबासी कुपित थिए । माक्र्सको के बिश्वास थियो भने आफ्नो देशको भाग्यको फैसला केवल इटली निबासीले गर्न सक्तछन् अनि आफ्ना उत्पीडकहरुकाप्रति तिनको ज्वलन्त घृणा राष्ट्रब्यापी क्रान्तिकोरुपमा सामु आउने छ । उनको के राय थियो भने मध्यम र साना पूजीपति बर्ग, किसान, बुद्धिजीबीहरु उदाउँदो मजदुर बर्गलाई सामन्त बर्ग बिरोधी जनबादी शक्तिको वरिपरी गोलबन्द गर्नु पर्दछ, ता कि उनीहरुले देशका सामुमा रहेको गर्नै पर्ने कामलाई सफल बनाउन सकुन् । इटलीका जनबादीहरुलाई तुरुन्तै साबधान गर्दै माक्र्सले उनीहरुलाई बताएका थिए कि नेपोलियन तृतीय केवल आफ्नो स्वार्थ सिद्धिको दृष्टिले इटलीको मामिलमा रुचि लिइरहेका छन् ।
यता गैरीबाल्डीका सेनाद्वारा दक्षिण इटलीलाई नेपिल्सको बीरबोन बंशको चंगुलबाट मुक्त गर्ने खबर माक्र्ससम्म पुग्दा उनले त्यसको जोडदार स्वागत गरेका थिए । तर एक राजनीतिज्ञकारुपमा गैरीबाल्डी त्यत्तिकै निकम्मा साबित भयो जत्तिको श्रेष्ठ उ क्रान्तिकारी सेनानायकका रुपमा सिद्ध भएको थियो । पूरै दक्षिण इटलीलई स्वतन्त्र गराइसकेपछि गैरीबाल्डीले रोमतर्फ आफ्नो प्रस्ताबित दौड रद्द गर्दियो, आफ्नो अधिकार त्यागिदियो र यसरी आफूलाई अदूदर्शी तथा ढुलमुलकारीको परिचय दियो – जसका लागि यो जानिने गरिन्छ ! सम्पूर्ण इटलीको एकता के कसरी स्थापित हुनेछ – यस प्रश्नलाई उसले उचित महत्व दिएन । परिणाम के भयो भने एक रिपब्लिकन र जनबादी हुँदाहुँदै पनि जब संबैधानिक राजतन्त्र अन्तरगत इटलीको एकीकरणको प्रश्न उठ्यो त्यतिबेला उसले त्यस्तो बिचारको बिरोध गरेन । पूँजी लेखिरहँदा माक्र्स यिनै जीबन्त र बदलिरहेका ठोस बस्तुगत घटना परिघटनाहरुमा सामेल भइरहेका र तिनको सुक्ष्म अध्ययन र अबलोकन गरिरहेका थिए र सही निष्कर्श निकालिरहेका थिए । यसरी आजीवन शोषित पीडित जनता र सम्पूर्ण मानबको मुक्ति, प्रगति र प्रतिष्ठाका लागि सम्पूर्ण सचेत जीवन समर्पण गरेका कार्ल माक्र्स आज पनि अमर र उत्तिकै स्मरणीय छन् ।बिश्वको आमूल, अग्रगामी र अतुलनीय परिबर्तनका लागि उनको उनको अमर योगदान मानब समाजमा सदा सर्बदा स्मरणयोग्य रहने छ । कालजयी कार्ल माक्र्स जिन्दाबाद !


















