एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार आक्रमण गर्ने योजनालाई आफूले स्थगन गरेको जनाएको छन् ।
उनले मध्यपूर्वमा अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूका लागि स्वीकार्य हुने सम्झौता हुनसक्ने सम्भावनाप्रति क्षेत्रीय नेताहरू आशावादी रहेको दाबी गरे ।
“यस सम्झौतामा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको इरानसँग कुनै पनि प्रकारको आणविक हतियार नहुने सुनिश्चित गर्नु हो,” ट्रम्पले भनेका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यसपटकको अवस्था विगतमा इरानसँग सम्झौतानजिक पुगेको भनिएका अवस्थाहरूभन्दा थोरै फरक रहेको जनाएका छन् ।
“यो अत्यन्त सकारात्मक विकास हो । तर, यसले मूर्त रूप लिन्छ वा लिँदैन, त्यो हेर्न बाँकी छ,” उनले भने । वार्ताको सुस्त गतिबाट असन्तुष्ट बनेपछि ट्रम्पले वरिष्ठ सैन्य सल्लाहकारहरूले दिएको विकल्पहरूको सूचीका आधारमा मंगलबार इरानका विभिन्न लक्ष्यहरूमा आक्रमण गर्ने योजना बनाएका थिए । तर, ट्रम्पले कुन लक्ष्य वा कति ठूलो स्तरको सैन्य कारबाहीबारे विचार भइरहेको हो भन्ने खुलाएका छैनन् ।
“हामी भोलि एउटा धेरै ठूलो आक्रमण गर्ने तयारीमा थियौँ । मैले त्यसलाई केही समयका लागि सारेको छु । आशा छ, सायद सधैँका लागि होला । तर, सम्भवतः केही समयका लागि मात्र,” ट्रम्पले भने ।
इरानसँग ठूला छलफलहरू भइरहेको भन्दै उनले ती कहाँ पुग्छन्, त्यो हामी हेर्ने बताएका छन् । इरानसँग आणविक हतियार हुन नहुने आफ्नो रेड लाइन पुनः दोहोर्याउँदै ट्रम्पले खाडी राष्ट्रहरू कुनै शान्ति प्रस्तावबाट सन्तुष्ट भए अमेरिका पनि सन्तुष्ट हुन सक्ने संकेत गरे ।
यसैबीच सीएनएनसँग कुरा गर्दै ट्रम्पले भने, “यदि, हामीले उनीहरूमाथि भयानक बमबारी नगरीकन यो समस्या समाधान गर्न सक्यौँ भने, म अत्यन्त खुसी हुनेछु ।”
यसअघि, आइतबार ट्रम्पले इरानलाई सम्झौताका लागि समय घर्किरहेको चेतावनी दिएका थिए । अन्यथा, गत महिनादेखि रोकिएको सैन्य अभियान पुनः सुरु हुने संकेत उनले दिएका थिए ।
सोमबार बिहान इरानले पाकिस्तानी मध्यस्थकर्तामार्फत आफ्नो वार्तासम्बन्धी दृष्टिकोणबारे जवाफ पठाएको जनाएको थियो ।


















