अमेरिकाले क्युबाविरुद्ध सैन्य कारबाही गरे रक्तपात हुने चेतावनी

7

हभाना । अमेरिकाले क्युबाविरुद्ध सैन्य कारबाही गरे अकल्पनीय परिणामसहितको रक्तपात हुने चेतावनी क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले दिएका छन् । सोमबार सामाजिक सञ्जाल एक्समामा लेख्दै उनले क्युबाले कुनै पनि देशविरुद्ध आक्रामक योजना नराखेको र अमेरिकाविरुद्ध कहिल्यै खतरा नबनेको बताएका हुन् । “क्युबाले कुनै देशलाई धम्की दिएको छैन । अमेरिकाविरुद्ध पनि हाम्रो कुनै आक्रामक योजना छैन, र अमेरिकी सरकारलाई यो राम्रोसँग थाहा छ,” उनले भने ।

क्युबाले अहिले अमेरिकाबाट बहुआयामिक दबाब भोगिरहेको आरोप लगाउँदै यदि सैन्य हमला भयो भने आफ्नो देशलाई आत्मरक्षाको पूर्ण अधिकार रहेको डियाज–क्यानेलले बताए । हाल क्युबा र अमेरिकाबिचको सम्बन्ध दशकौंयताकै कमजोर अवस्थामा पुगेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले क्युबामाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आगामी दिनहरूमा थप प्रतिबन्ध आउन सक्ने जनाएका छन् ।

नयाँ प्रतिबन्धअन्तर्गत क्युबाको मुख्य गुप्तचर निकाय, गृह मन्त्रालय तथा ११ जना उच्च अधिकारीमाथि कारबाही गरिएको छ । तीमध्ये न्याय मन्त्री र क्युबाली सशस्त्र बलका उपमन्त्री पनि छन् ।  यसैबिच, क्युबामा गम्भीर ऊर्जा संकट जारी छ ।रुसबाट आएको अन्तिम तेल सहायता सकिएको भन्दै लामो समयसम्म विद्युत् कटौती सहनुपर्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार प्रमुख ढुवानी कम्पनीहरू हैपैग–ल्योड र सीएमए सीजीएमले पनि नयाँ अमेरिकी नियम पालना गर्दै क्युबासँगको ढुवानी सेवा बन्द गर्ने निर्णय गरेका छन् । यसले खाद्यान्न अभाव झन गम्भीर बन्ने चिन्ता बढेको छ । विगत केही दशकदेखि कृषि उत्पादन घट्दै गएपछि क्युबाले आफ्ना अधिकांश खाद्यान्न विदेशबाट आयात गर्दै आएको छ । चीनी, कफी र तमाखुजस्ता परम्परागत उत्पादनसमेत अहिले आयात गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here