हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङ २१ दिने प्रतिउत्तर पेश गर्नुपर्ने

2

काठमाडौं । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिने सूचना जारी गरेर सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न भनेको छ ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योती कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी हुन् । अदालतको सूचनामा भने उनको तीनपुस्ते विवरण खुलाउँदै ‘धनराज गुरुङकी पत्नी’ नै लेखिएको छ ।

सूचनामा लेखिए अनुसार बोधविक्रम थापाले ज्योतिविरुद्ध लेनदेन मुद्दा दायर गरेका थिए । त्यस अनुसार जिल्ला अदालतबाट गुरुङका नाममा जारी भएको म्याद बदर भई २०८३ साल जेठ ५ मा भएको आदेश अनुसार मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०५ को उपदफा २२ बमोजिम २१ दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ ।

‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक २१ (एक्काइस) दिनभित्र आफैं वा कानुन बमोजिमको प्रतिनिधि मार्फत् आफ्नो भएको सबुद प्रमाणसहित प्रतिउत्तर पत्र लिई यस अदालतमा उपस्थित हुनुहोला,’ आज गोरखापत्रमा प्रकाशित सूचनामा लेखिएको छ ।

म्यादभित्र उपस्थित नभई म्याद गुजारी बसे मुद्दा कानुन बमोजिम हुने र पछि कुनै उजुर नलाग्ने पनि सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here